चितवनमा भीषण हावाहुरीका कारण मृत्यु हुने ३ जनाको सनाखत

चितवन, ७ जेठ । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको ज्यान लिएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको थियो ।मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना२ह २२४७ नम्बरको अटो सवारी साधन रुखले च्यापिँदा चालक स्थानीय ५१ वर्षीय प्रदीपकुमार लामाको मृत्यु भएको छ । सोही अटोमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङको मृत्यु भएको हो ।
यस्तै सोही समयमा भरतपुरको बसेनी चोकमा ना१ज ६१४० नम्बरको म्याजिकलाई रुखले किच्दा त्यसमा सवार स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा गरी ११ घाइते भएका छन् । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया