सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीको माइतीघरमा प्रर्दशन

काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । निजगढ विकास पक्षधरहररूको आयोजनामा माईतीघरमा सर्वोच्चको निर्णयविरुद्ध शनिबार प्रदर्शन भएको हो ।
सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’, ‘के विकास र समृद्धि अधिकार होइन रु’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए ।
२०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रम अगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्नेको बाराका युवा नेता दामोदर मैनालीले बताए ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको थियो । वातावरणीय कारण देखाएर अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यताअनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो ।
तपाइँको प्रतिक्रिया