गैँडाकोटमा तत्काल एउटा ट्रमा सेन्टर बनाउन आवश्यक : शशांक कोइराला

गैँडाकोट, १४ जेठ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गैँडाकोटमा एउटा ट्रमा सेन्टरको आवश्यकता भएको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस गैँडाकोट नगर कार्यसमितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले गैँडाकोटमा अत्याधीक सडक दुर्घटना हुने भन्दै घाइतेको उपचारका लागि तत्कालै ट्रमा सेण्टर बनाउन आवश्यक रहेको बताउनुभएको हो ।
डा. कोइरालाले आफुले नवलपुरमा ट्रमा सेन्टर, विपि अन्तर्राष्ट्रिय खेलमैदान निर्माण र नारायणी नदि किनारको तटबन्धन सहितको बैकल्पीक मार्ग बनाउने तिनवटा सपना देखेको बताउँदै एउटा सपना योजनामा परेपछि अब दुइटा बाँकी रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा गैंडाकोटमा विपि अन्तर्राष्ट्रिय खेलमैदान निर्माण गर्ने कार्यक्रम समावेश भएको थियो ।
उहाँले गैँडाकोटमा पहाड, नदिनाला, वनजंगल भएको बताउँदै यहाँ असंख्य सम्भावनाको पुञ्ज भएको पनि उल्लेख गर्नुभयो । उहाँले त्यस सम्भावनाको अध्ययन गरेर मात्र नगरलाई समृद्ध बनाउन अगाडि बढ्न सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैँडाकोटको मुख्य समस्या नै नारायणी तटबन्धन भएको बताउनुभयो । उहाँले यसलाई नगरको बजेटले मात्र धान्न नसक्ने बताउँदै केन्द्रिय रुपबाट भन्दै राष्ट्रिय गौरभको आयोजनामा पार्न लागिपर्ने बताउनुभयो । गैँडाकोटलाई हराभरा बनाउँने बाचा लिएर नै जनप्रतिनिधि भएको बताउँदै कुनैपनि आर्थिक लाभमा नपरी काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी, नेकपा माओवादी केन्द्रका जिल्ला सभापति धनप्रसाद सापकोटा, नेकपा एमाले गैँडाकोट नगरकमिटी अध्यक्ष षडानन्द लामिछाने, गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, निवर्तमान उपप्रमुख विष्णुकुमारी कंडेल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष युवराज रिमाल लगायतले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेस नगर सभापति बद्रि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर सचिव गोविन्द घिमिरेले कार्यक्रमको सहकिरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया