धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४२ औँ वार्षिक साधारण सभा सम्पन्न

गैँडाकोट, २१ जेठ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैँडाकोट १ मौलाकालिका सामुदायिक वन उपभोक्ता समुहको प्राङ्गणमा शनिबार साधारणसभा सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि समेत रहनुभएका हरिहर सन्यास आश्रमका पीठाधीस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले विश्वमै ख्याती कमाउदै गइरहेको गैडाकोट १ मा अवस्थि मौलाकालिका मन्दिरको मौलिकतालाई बचाई राख्न आग्रह गर्नुभएको छ ।
मन्दिरमा बलि प्रथाको अन्त्य भएकाले मौलाकालिका भगवती मन्दिरको महिमा विश्वभर प्रख्यात हुँदै गएको उहाँले बताउनुभयो । मन्दिरको विकासका निम्ती यस समितिले महत्वपुर्ण भुमिका खेलेको बताउँदै यस्तै धेरै धार्मिक मान्छेको जन्म भएमा मन्दिरको प्रगती हुने उल्लेख गर्नुभयो । उहाँले मौलाकालिका गुरुकुलम सञ्चालन गर्न लागेकोप्रति खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै धार्मिक सेवा समिति मौलाकालिका मन्दिर समितिका अध्यक्ष शालिकराम सापकोटाले हिन्दु धर्ममा आस्था भएका मानिसहरुको सहयोगमा मौलाकालिका देवघाट सिँढीमार्ग निर्माणको कार्य सुरु, मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम जस्ता भौतिक संरचना सम्भव भएको बताउनुभयो । अध्यक्ष सापकोटाले नेपाल सरकारबाट धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरिएको यस मन्दिरमा पर्यटकिय दृष्टिकोणले दिन प्रतिदिन आकर्षणको केन्द्र भएको समेत स्पष्ट पार्नुभयो ।
सो अवसरमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले मन्दिरको निर्माणमा अझै धेरै काम बाँकी रहेको बताउँदै सबैजना मन्दिर निर्माणतर्फ अग्रसर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले मन्दिरमा बलि चढाउने प्रथा हट्नु नै खुसीको कुरा भएको बताउँनुभयो ।कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव एवं वडा नम्वर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगती प्रतिवेदनतथा आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कोषाध्यक्ष सुवनप्रसाद ढकालले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित लक्ष्य तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।सो अवसरमा गैँडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला, देवघाट क्षेत्रविकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारी, संस्थाका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महत, गैँडाकोट नगरपालिकाकी निवर्तमान उपप्रमुख विष्णुकुमारी कंडेल लगायतको मन्दिरको प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया