गैँडाकोटका महाकाव्यकार विनोदीलाई त्रिमूर्ति सम्मान

गैँडाकोट, २१ जेठ ।
त्रिमूर्ति निकेतनले यस वर्षको त्रिमूर्ति पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदी, अभिनेत्री मिथिला शर्मा र कवि शैलेन्द्र साकारलाई प्रदान गरेको छ । निकेतनले शनिबार एक समारोहको आयोजना गरि उहाँहरुलाई पुरस्कृत गरेको हो । यस वर्षको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि विनोदीलाई, ‘बालकृष्ण सम पुरस्कार’ अभिनेत्री शर्मालाई र ‘देवकोटा काव्य पुरस्कार’कवि साकारलाई समर्पण गरेको हो । तिनैजनालाई ताम्रपत्रका साथ जनही एक लाख रूपैयाँले पुरस्कृत गरिएको थियो ।
नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो । त्रिमूति निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा त्रिमूर्तिका नाउँमा लेखनाथ पौडयाल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूमा समर्पण गर्दै आएको छ ।
यसका अतिरिक्त आवश्यकतानुसार नेपाली भाषासाहित्य र त्रिमूर्ति निकेतनका सेवामा समर्पित महानुभावहरूमा निकेतनले त्रिमूर्ति पुरस्कार र त्रिमूर्ति सम्मान पनि समर्पण गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया