१६ महिने छोरी हत्या आरोपमा किशोरी आमा पक्राउ

काठमाडौंँ २५ जेठ ।
दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेकी छन् । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् ।
त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । किशोरी अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको बताएकी छन् ।
तपाइँको प्रतिक्रिया