मल नपाएपछि सहकारीले बुझायो गैँडाकोट नगरपालिकालाई ज्ञापनपत्र

गैँडाकोट, २६ जेठ ।
कृषकले समयमै रासायनिक मल (युरिया) पाउन नसकेको भन्दै विनायक कृषि सहकारी संस्थाले गैँडाकोट नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विहीबार सहकारी संस्थाले गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालालाई ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र मल उपलब्ध गराउन आग्रह गरेको हो । ज्ञापनपत्रमा २०७८ पौष २६ गतेदेखि नै गैँडाकोट नगरपालिकाभित्र रासायनिक मल युरिया आपुर्ति नभएको सन्दर्भलाई जानकारी गराउँदै मल परिपुर्तिका लागि प्रदेश र संघीय सरकारसंग पहल गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्र बुझाएपछि मुकुन्दसेन टेलिभिजनसंग कुरा गर्दै विनायक कृषि सहकारीका अध्यक्ष तिलक प्रसाद कंडेलले रासायनिक मल परिपुर्तिका लागि स्थानीय तहले नै सहजता गरिदिनुपर्ने भएकाले नगरपालिकालाई पत्र बुझाएको बताउनुभयो ।
गण्डकी प्रदेशका सचिवसँग मल अभावको गुनासो गर्दा गृहमन्त्रालयलाई सिधै सम्पर्क गर्नुहोस् भन्ने ठाडो जवाफ आएको अध्यक्ष कंडेलको गुनासो छ ।अध्यक्ष कंडेलले एक हप्ताभित्र समस्याको समाधान नभए चरणवद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभएको छ । विनायक कृषि सहकारीमा ८ सय ५ सदस्य रहेका छन् । गैँडाकोटकी उपप्रमुख कोइरालाले भने यो समस्या जतिसक्दो चाडो समाधान गर्ने आश्वासन दिनुभएको अध्यक्ष कँडेलले बताउनुभयो । युरिया मलको अभाव हुँदा किसानहरुले चर्को मुल्य तिरेर खरिद गर्नुपरेको अध्यक्ष कँडेलको भनाई छ । सहकारीले २० रुपैँया प्रतिकिलो विक्री गर्ने गरेको मललाई कृषकले ६० रुपैयाँसम्म तिर्न बाध्य छन् ।
तपाइँको प्रतिक्रिया