गैँडाकोटमा पूर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न

गैँडाकोट, ४ असार ।
गैँडाकोट नगरपालिका वडा नम्वर ७ मा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा सबैको लागि भन्ने नाराका साथ वडाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्वर ७ का हेल्थ इन्चार्ज पदम पाणी शर्माले वडामा कोहिपनि वालवालिका टाइफाइट रोगविरुद्धको खोपबाट बन्चित हुन नपरोस भन्ने उद्धेश्यले घरदैलो अभियान गरिएको उल्लेख गर्नुभयो । उहाँले वडामा कोहिपनि बालबालिका खोपबाट बन्चित नभएको दावी समेत गर्नुभयो ।
कार्यक्रममा नसर्ने रोगसम्वन्धी अभिमुखिकरण तालिम समेत गरिएको थियो । तालिमको सहजिकरण सर्भिलेन्स अधिकृत नारायण सापकोटाले गर्नुभएको थियो । सो अवसरमा उहाँले नसर्ने रोगको परिभाषा, प्रकार र यसले विरामीलाई पार्ने प्रभावको बारेमा जानकारी गराउँनुभएको थियो । उहाँले मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारणले स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको बताउनुभयो । तालिममा सापकोटाले मानिसमा नसर्ने रोगको जोखिम बढ्नुका कारण र परिवर्तनका बारेमा जानकारी गराउँनुभएको थियो ।
सो अवसरमा वडा नम्बर ७ मा निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिलाई स्वागत समेत गरिएको थियो । वडा नम्वर ७ का वडाध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इशवरी जीसी, सिता दराई, स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ट प्रकाश पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया