नेपालीले आँखा सिँगार्नमै खर्चिए २२ करोड

काठमाडौं, २० असार । नेपालमा आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागि २२ करोड भन्दा बढि रकम खर्च भएको छ । नेपालबाट ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको हो ।
चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि रु २२ करोड ८१ लाख ९७ हजार बराबर रकम बाहिरिएको छ । यसबाट राज्यले रु आठ करोड ६४ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै रु १० करोड ५६ लाख २६ हजार मूल्य बराबरको कूल छ हजार ६२९ केजी परिमाणमा आयात भएको छ ।
त्यस्तै चीनबाट रु छ करोड ९९ लाख २७ हजारमा ७८ हजार ३५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ ।
त्यस्तै मेकअपका अर्को सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा रु ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले रु ३५ करोड २९ लाख ८० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
तपाइँको प्रतिक्रिया