गण्डकीमा सवारी कर र जरिवाना अचाक्ली, १८ हजार तिरे पुग्नेमा १ लाख बढी तिर्नुपर्ने

पोखरा, १० साउन ।
बागलुङका पूर्ण शिरिषले २ सय सीसीको मोटरसाइकल किनेर गत साल असार २७ गते यातायात व्यवस्था कार्यालय ९सवारी० कास्कीमा दर्ता गराए । एक वर्षभित्र उनले नवीकरण गर्नुपर्नेमा उनी २ दिन ढिला गरी यातायात कार्यालय पुगे । ४ हजार ५ सय रुपैयाँ वार्षिक सवारी कर लाग्ने अनुमानसहित उनी कार्यालय पुगेका थिए । तर, उनलाई २० हजार ३ सय रुपैयाँको रसिद थमाइयो ।
अघिल्लो सालको सवारी कर ४ हजार ५ सय रुपैयाँ र यातायात व्यवस्था कार्यालयमा २ दिन ढिला पुग्दा सवारी करकै दोब्बर ९ हजार रुपैयाँ त जरिवाना मात्रै तिर्नुपर्ने भयो । चालु वर्षमा वृद्धि भएको सवारी कर ६ हजार ५ सय र ३ सय रुपैयाँ नवीकरण शुल्क गरी २० हजार ३ सय रुपैयाँ तिर्नुपर्ने भएपछि शिरिष रन्थनिए । अघिल्लो साल २ सय सीसीको मोटरसाइकलको वार्षिक सवारी कर यो वर्षदेखि ६ हजार ५ सय पुर्याइएको छ ।
पोखरा(३३ भरतपोखरीका विष्णु आचार्य पनि यस्तै छटपटीमा भेटिए । असार २३ गते किनेको मोटरसाइकल ३१ गतेभित्र नवीकरण नगर्दा उनले पनि अघिल्लो सालसम्म तिर्ने सवारी करभन्दा दोब्बर बढी जरिवाना तिर्नुपर्यो ।
एकातिर सबैजसो सवारी साधनको कर वृद्धि गरेको गण्डकी प्रदेश सरकारले अर्कोतिर जनताको ढाड सेक्ने गरी दोब्बर हर्जना असुल्न थालेको छ । अघिल्लो वर्ष तिर्नुपर्ने सवारी साधनको सीसीअनुसारको कर र १ दिनमात्र पनि ढिला हुँदा त्यसको दोब्बर तिर्नुपर्ने जरिवाना र गण्डकी प्रदेश सरकारको नयाँ आर्थिक ऐनअनुसार वृद्धि भएको यो वर्षको सवारी करसहित एकमुष्ठ बुझाउनु पर्ने व्यवस्थाले सामान्य जनतालाई थला पार्ने काम गरेको आचार्यको गुनासो छ ।
सरकारले लागु गरेको अहिलेको सवारी कर नीतिले स्तरअनुसारको सवारी साधन चढ्ने सबै नागरिकलाई ठूलो आर्थिक भार पारेको छ । यसले सामान्य नागरिकदेखि यातायात व्यवसायीसम्मलाई ढाड सेक्ने काम भएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
भाडामा दर्ता भएको ४ हजार सीसी माथिको माइक्रो बसको १६ हजार रुपैयाँ सवारी कर तिरे पुग्थ्यो । यो आर्थिक वर्षको साउनयता त्यही सवारी साधनको कर २२ हजार रुपैयाँ पुगेको छ । अब १ दिनमात्र नवीकरण गरेर सवारी गर तिर्न ढिला हुँदा अघिल्लो वर्षको १६ हजार रुपैयाँ बक्यौता, त्यसको दोब्बर सवारी कर जरिवाना ३२ हजार रुपैयाँ, यो आर्थिक वर्षमा बढेको सवारी करसहित २२ हजार रुपैयाँ गरी ७० हजार रुपैयाँ तिर्नुपर्ने भएपछि पोखराका यातायात बस व्यवसायी पवित्रमणि अधिकारी छाँगाबाट खसेजस्तै भएका छन् ।
३५ सय सीसीको माइक्रो बसको वार्षिक सवारी कर अघिल्लो वर्ष ५६ हजार रुपैयाँ तिरे पुग्नेमा यो वर्षबाट ९ हजार बढेर ६५ हजार रुपैयाँ पुगेको छ । यसअघि म्याद नाघे पनि ३ महिनाभित्र सवारी कर तिर्दा जरिवाना तिर्नुपर्ने व्यवस्था थिएन । तर, सोही सीसीको माइक्रो बसको वार्षिक सवारी कर तिर्न १ दिनमात्र ढिला भयो भने पनि ५६ हजार रुपैयाँको दोब्बर अर्थात् १ लाख १२ हजार रुपैयाँ हर्जानामात्र तिर्नुपर्ने भएको छ । जबकी यसअघिको व्यवस्थाअनुसार ३२ प्रतिशत अर्थात १७ हजार ९२० रुपैयाँ तिरे पुग्थ्यो । यस वर्षको बढेको कर ६५ हजार रुपैयाँ सहित सबै गरेर एकै पटकमा २ लाख ३३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यसअघि तिर्नुपर्ने वार्षिक सवारी करबापत तिर्नुपर्ने कुल रकमको ३२ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । यो वर्षदेखि भने कुनै अवधि नै नदिइ म्याद सकिएको भोलिपल्टैबाट कुल वार्षिक सवारी करकै दोब्बर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
उदाहरणका लागि, दुई सय सीसीको मोटरसाइकलको वार्षिक कर ४ हजार ५ सयको ३२ प्रतिशत थपेर अर्थात १ हजार ४४० रुपैयाँ तिरे पुग्थ्यो । यो वर्षदेखि भने म्याद सकिएको भोलिपल्टैबाट वार्षिक सवार कर ४ हजार ५ सयकै दोब्बर ९ हजार रुपैयाँ जरिवानामात्र तिर्नुपर्ने भएको हो ।अनलाईन खवरबाट
तपाइँको प्रतिक्रिया