बौदीकालीको भुवटरीटार क्षेत्रलाई आकर्षक पर्यटकीय स्थल बनाइने

कावासोती,१५ साउन ।
नवलपुरको पहाडी गाउँपालिका बौदीकाली गाउँपालिका वडा नं. दुई स्थित कालीगण्डकी तटीय क्षेत्र भुवरीटारलाई आकर्षक पर्यटकीय स्थल बनाउने कार्यको थालनी गरिएको छ ।कालीगण्डकी नदी किनारको मनोरम र सुन्दर वातावरणमा अवस्थित भुवरीटार क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय स्थल बनाउन आधारभूत तयारी र छलफल भएको छ ।
दोभान भुवरीटार पर्यटन विकास समिति बौदीकाली दुई डेढगाउँको समन्वयमा जनप्रतिनिधि , प्राविधिक , कर्मचारी , समिति, सल्लाहकार र समाजसेवी स्थानीयवासीको उपस्थितिमा स्थलगत अवलोकन जडीबुटी र अन्य बिरुवा रोप्ने विषयमा छलफल भएको हो । तटीय क्षेत्रमा रहेको सार्वजनिक जग्गाको संरक्षण पनि हुने र पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर आयआर्जनसँग समेत जोड्न सकिने हुँदा गाउँपालिकाले यस क्षेत्रको विकासका निम्ति आवश्यक समन्वय गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।
गाउँपालिकाले पालिका भित्र रहेका सबै सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो – ‘पालिका भित्रका सबै सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति कार्यक्रम छ । भूसंरक्षणसँगै त्यस्ता क्षेत्रमा गर्न सकिने सम्भावित विकासको कार्य समेत समुदायसँग सहकार्य गरेर अघि बढाउँछौँ । ’
भुवरीटार क्षेत्रलाई आकर्षक पार्कको रुपमा विकास गर्ने र समुदायलाई समेत फाइदा पुग्ने विभिन्न प्रकारका जडिबुटी र बोटबिरुवा रोप्ने योजना रहेको छ । ‘भोलिको दिनमा बस्ती विकास हुँदै गर्दा खुल्ला स्पेस चाहिन्छ , स्वास्थ्यको उद्देश्यले मर्निङ वाक गर्न होस् वा रमाउने उद्देश्यले मानिसले यस क्षेत्रमा आउने वातावरण बनाउने र अन्यत्रबाट आएका पर्यटकको रोजाईमा यो क्षेत्र परोस् भन्ने उद्देश्य लिएका छौँ । ’ अध्यक्ष ओझाले भन्नुभयो ।
सार्वजनिक जग्गा संरक्षण र पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाको नीति कार्यक्रम नै छ । जस अन्तरगत पालिका भित्र रहेका सार्वजनिक ठाउँको खोजी गर्ने र ती ठाउँको भौगोलिक अवस्था अनुसारका पूर्वाधार तयार गर्ने योजना छ । अध्यक्ष ओझाका अनुसार आउँदो पाँच वर्षभित्र त्यस्ता ठाउँहरूको संरक्षण गरेर सम्भावित पूर्वाधारको विकास गर्ने लक्ष्य गाउँपालिकाको छ ।
भुवरीटार क्षेत्रलाई पर्यटकीय स्थल बनाउन वडा नं. दुईका बासिन्दाले चासो देखाएका छन् । समुदाय नै अग्रसर भएर लागेका कारण पहिलो चरणमा भुवरीटारबाट कामको थालनी गर्ने प्रकृया अघि बढेको अध्यक्ष ओझाले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया