स्थानीय निर्वाचनको क्षतिपूर्ति मंसिर ४ गते हुनेछ -सांसद महत

गैँडाकोट, २२ साउन ।
नेकपा (एमाले) का सांसद तिलक महतले गैँडाकोट नगरपालिकामा मेयर र उपमेयर गुमाउनु परेको स्थानीय निर्वाचनको क्षतिपूर्ति मंसिर ४ गते हुने बताउनु भएको छ । आइतबार गैँडाकोटमा अखिल नेपाल महिला संघ गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद महतले गोल खाइयो भन्दैमा खेलाडीले फुटबल खेल्न नछाड्ने बताउनु भयो ।
सांसद महतले गैँडाकोटमा नेकपा एमालेले हार्दा सुखी नेपाली, समृद्ध नेपालको सपनामा धक्का लागेको विचार व्यक्त गर्नुभयो । उहाँले जितमा खुसी हुने र हारमा निरास हुने भइयो भने जिन्दगीका योजनाहरु सफल हुन नसक्ने बताउनु भयो । हार्नेहरुले फेरि जित्ने उहाँको भनाइ थियो ।
सांसद महतले बुलिङ्टार गाउँपालिकामा ३२ वर्षपछि काँग्रेसले हार्नु एमालेका लागि ठूलो उपलब्धि भएको बताउनु भयो । उहाँले कुनै पनि मानिस समस्याविहीन नहुने भन्दै समस्याबाट माथि उठेर पार्टीको झण्डा उठाउनु पर्ने बताउनु भएको थियो ।
तपाइँको प्रतिक्रिया