एसईई उत्तीर्ण विद्यार्थीहरुलाई अमरको बधाई र विदाई

गैंडाकोट, २२ साउन ।
गैंडाकोट वडा नं १५ स्थित अमर ईङ्लिस बोर्डिङ्ग स्कुल २०७८ सालको एसईईमा नवलपुर जिल्लामै प्रथम भएको छ । अमर ईङ्लिस बोर्डिङ्ग स्कुलका छात्र अनुप आचार्य ३.९५ जिपिए ल्याई एस।ई।ई परीक्षा २०७८ मा नवलपुर जिल्लाकै प्रथम हुन सफल भएका हुन् । आचार्य सहित अन्य ७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि , २४ जना विद्यार्थीले ३.२ जिपिए भन्दा माथि र १२ जना विद्यार्थीले २.८ जिपिए भन्दा माथि गरि ४३ जना विद्यार्थीले राम्रो अंक ल्याएका छन् । २०७८ सालको एस।ई।ई मा संस्थागत विद्यालय मध्ये जिल्लामै सबै भन्दा राम्रो अंक ल्याउने विद्यालयको रुपमा अमर ईङ्लिस बोर्डिङ्ग स्कुल चिनिएको छ ।
शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । एस।ई।ई मा उतीर्ण ४३ जना विद्यार्थीहरुलाई अबिर लगाई मायाको चिनो प्रदान गरि सम्मान गरेको हो । विद्यालयको प्राङ्गढमा भएको बधाई तथा सम्मान कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर पोख्रेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्यतामा गैंडाकोट नगर प्याव्सनका अध्यक्ष लक्ष्मी दवाडी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी दवाडीले जिल्लामा नै सबैभन्दा राम्रो अंक ल्याई गैंडाकोटको नाम राख्न सफल भएको अमर ईङ्लिस बोर्डिङ्ग स्कुलका छात्र अनुप आचार्य सहित अन्य विद्यार्थीहरुलाई बधाई दिँदै आगामी दिनको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले छोराछोरी प्रति आमाबुबाको भरोसा जोडिएकाले आमाबुबालाई गर्व गर्ने पात्र बन्नुपर्ने विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो ।
२०७८ सालको एस।ई।ई मा जिल्ला प्रथम भएका अमर ईङ्लिस बोर्डिङ्ग स्कुलका छात्र अनुप आचार्यले यो स्थानमा आउनको लागि विद्यालयको महत्वपूर्ण भूमिका रहेकाले आज नतिजा राम्रो ल्याउन सफल भएको बताएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एस।ई।ई उतीर्ण विद्यार्थी नविना श्रेष्ठ, अनुप आचार्यका अभिभावक ज्ञानु आचार्य, नेपाल राष्ट्रिय अभिभावक महासंघ नवलपुरका सदस्य नन्दराम सापकोटा, बरचुली मा।विका भेटेरिनरी संयोजक परमेश्वर जोशी, लक्ष्मी मा।विका सहायक प्रधानाध्यापक तिलक बटाला, विद्यालयका पूर्व शिक्षक श्याम सुन्दर लामिछाने, अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक मनबहादुर रानाभाट, गैंडाकोट वडा नं १४ का वडाध्यक्ष कोकिसरा राना, वडा नं १६ का वडाध्यक्ष विनोद मल्ल र वडा नं १७ का वडाध्यक्ष गोपी कंडेलले विद्यार्थीहरुले अब आफूहरुले चाहेको विषय छनोट गरि पढ्न र जुन विषयमा अध्ययान गरिन्छ त्यस विषयमा विशिष्टता हासिल गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक पौडेलले वि।सं २०४६ सालमा स्थापना भएको अमर ईङ्लिस बोर्डिङ्ग स्कुलले एस।एल।सी र एस।ई।ई मा राम्रो नतिजा ल्याउँदै आएको र अहिले नवलपुर जिल्ला मै प्रथम हुन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको थियो । पौडेलले विद्यार्थीहरुको मेहेनत र शिक्षकशिक्षिकाहरुको अथक प्रयासले यो सम्भव भएको र भविष्यमा पनि यस्तै नतिजा ल्याई अन्तर्राष्ट्रिय स्तरमा विद्यालयलाई चिनाउन आफ्नो प्रयास रहने बताउनुभएको थियो ।
बधाई तथा सम्मान कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याउने सुरक्षा गार्ड, कार्यालय सहयोगी, शिक्षकशिक्षिका, सवारी चालक, उत्कृष्ट जिपिए ल्याउन सफल अनुप आचार्य, ३.६ जिपिए ल्याउने विद्यार्थीहरु र सर्वोत्कृष्ट १ जना शिक्षकलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।अमर ईङ्लिस बोर्डिङ्ग स्कुलका नेपाली शिक्षिका लक्ष्मी घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक प्रेम पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्षता रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले विद्यालय, विद्यार्थी र अभिभावकको समान मेहेनत र लगनशीलताले मात्रै सफलता प्राप्त गर्न सफल भएको बताउनुभएको थियो । कार्यक्रममा २०७८ सालमा उत्तीर्ण विद्यार्थीका अभिभावक, विद्यार्थी, शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया