सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
कावासोती,२५ साउन ।
सामुदायिक वन दिवसको अवसरमा कावासोती नगरपालिका ६, विष्णुनगरमा वृक्ष रोपण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । दिवसको अवसर पारेर डिभिजन वन कार्यालय नवलपुर, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर र विष्णुनगर सामुदायिक वन उपभोक्ता समूहको सयुक्त आयोजना वृक्ष रोपण तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले आफ्नो वन आफैले संरक्षण गर्ने नीति सफल बनेको बताउनुभयो । राज्यले वन संरक्षणको जिम्मा स्थानीयलाई प्रदान गरेपछि वन संरक्षणमा सफलता मिलेको बताउनुभयो । विगतमा वन विनाश तिव्र हुने गरेकोमा राज्यले स्थानीयबाट संरक्षण गर्ने नीति सँगै सामुदायिक वनको अवधारणा आएपछि वन संरक्षणमा हुन पुगेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले राजनीतिक दलहरूले मतको राजनीति गर्दा बेलाबेलामा वनमा अतिक्रमण हुने गरेको बताउनुभयो । आफूलाई मत आउँछ कि भनेर वनका जमिन अतिक्रमणका घटना हुने गरेको भन्दै यस तर्फ सबै गम्भिर बन्नुपर्ने बताउनुभयो ।वन र पर्यावरण, वन र हावापानी, वन र मानव स्वास्थ्य बिचको सम्बन्ध र वनको महत्वलाई बुझेर यसको संरक्षणमा लाग्नुपर्ने नगर प्रमुख भुसालले बताउनुभयो । विष्णुनगरमा गरिको वृक्ष रोपण लाई सफल बनाउन यसको संरक्षणमा ध्यान दिनुपर्ने समेत उहाँले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्य देविमाया घिमिरेले स्थानीय सरकारले सरोकारवालाहरु सँगको समन्वयमा वन ऐन बनाएर यसको संरक्षण र सदुपयोग गर्नुपर्ने बताउनुभयो । वनको संरक्षण सामुदायिक वनको अवधारण आए पछि भएको बताउँदै उहाँले यसमा पनि महिलाहरूको प्रतिनिधित्व धेरै भएको बताउनुभयो । उहाँले हालै बनेको ऐनमा विभिन्न ८ बुँदामा आफूहरू असहमत रहेको समेत बताउनुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले वनको संरक्षणले पृथ्वीको बढ्दो तापमान रोक्न र जलवायु परिवर्तन रोक्न सहयोग पुग्ने बताउनुभयो । यसका लागि वनका खाली जमिनको सदुपयोग गर्दै जानुपर्ने, वनको संरक्षण गर्नुपर्ने बताउनुभयो । वन संरक्षणमा विभिन्न चुनौति रहेपनि स्थानीय सहित सबै सरोकारवालाहरू संरक्षणमा लाग्नुपर्ने डिभिजन वन कार्यालय प्रमुख काफ्लेले बताउनुभयो । कार्यक्रममा उहाँले सामुदायिक वनको अवधारण र वन संरक्षणमा सामुदायिक वनले खेलेको भूमिकाका विषयमा समेत जानकारी प्रदान गर्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले हिजोका दिनमा सामुदायिक वन संरक्षणको अवस्थामा रहेकोमा अब समृद्धितर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । सामुदायिक वनले उपभोक्ताको जिविकोपार्जनमा सुधार गर्नुपर्ने बताउनुभयो । यसमा केही नीतिगत चुनौती रहेको बताउँदै भोलिका दिनमा जनप्रतिनिधि ,सरोकारवालाले यि चुनौती हटाएर सामुदायिक वनलाई समृद्धि र उद्योगतिर जोड्नेतर्फ लाग्नुपर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
विष्णुनगर सामुदायिक वनका अध्यक्ष घनलाल सापकोटाको अध्यक्षता , एन्साब नेपालका फिल्ड कोर्डिनेटर चण्डीका अम्गाईको स्वागत र सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर सचिव सीता भुसालको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष तबारक अहमद मिया, ६ का अध्यक्ष यम बहादुर थापा, वन तथा पर्यावरण सुरक्षा गणका मेजर क्षेत्रजंग हमाल, प्रहरी नायव उपरीक्षक सन्तोष पाठक, वनका सरोकारवाला, समाजसेवी , स्थानीय लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । सो क्रममा विष्णुनगरको खाली चौरमा कपुर, तेजपत्ता, अम्बा लगायतका करिब दुई सय विरुवा रोपण समेत गरिएको थियो ।
तपाइँको प्रतिक्रिया