विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन

चोरमारा ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन गर्नु भएको छ । बुधबार विनयी त्रिवेणी गाउँपालिका–६ र ७ मा पुगेर अध्यक्ष गिरीले सडकको स्थलगत अनुगमन गर्नु भएको हो । गण्डकी प्रदेशको भारतसंग सिमा नाका रहेको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीबाट दुम्किबास सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु भएका अध्यक्ष गिरीले बुधबार त्रिवेणी क्षेत्रमा विगतमा खोलिएको ट्रयाकको अनुगमन गरी स्थानीयसंग जानकारी लिनु भएको हो ।
गण्डकी प्रदेशको नाका सडकको रुपमा रहेको यस सडक चितवन राष्ट्रिय निकुञ्ज भएर निर्माण हुनेछ । युनेस्कोबाट सडक निर्माणको लागि अनुमति नहुँदा सडक निर्माणले गति लिन सकेको छैन् । सडक निर्माणको लागि आवश्यक समन्वय तथा योजना निर्माणको लागि स्थलगत अनुगमन गरेको अध्यक्ष गिरीले बताउनुभयो ।पालिका अध्यक्षको पदभार ग्रहण गरेको पहिलो निर्णयमा नै सो सडक निर्माण गर्ने प्रतिबद्धता अनुसार निर्णय गरेको भन्दै अध्यक्ष गिरीले त्यसको लागि आवश्यक पहल गर्न अफु क्रियाशिल रहेको बताउनुभयो । विगतमा ट्रयाक समेत खोलेर बाटो सञ्चालनमा आएको सन्दर्भमा अब सडक निर्माणको लागि ठोस पहल तर्फ गाउँपालिका लागि परेको उहाँले बताउनुभयो ।
सडक निर्माणपछि गण्डकी प्रदेश को भारत संग जोडिएको एकमात्रै सिमानाका तथा त्रिवेणी भन्सार समेत सञ्चालनमा आउने भन्दै उहाँले यसको लागि प्रदेश र सघिय सरकारले समेत आवश्यक अपनत्व बहन गर्नुपर्ने उहाँले बताउनुभयो । विनयी त्रिवेणी ६ र ७ का स्थानीय सडक पहुँच नहुदाँ पालिका र जिल्ला सदरमुकाम जान अन्य प्रदेश र जिल्ला भएर यात्रा गर्न बाध्य रहेको भन्दै उहाँले स्थानीय जनताको सहजताको लागि पनि यो सडक निर्माण गर्न अत्यावश्यक रहेको बताउनुभयो ।
त्रिवेणीबाट दुम्किबास सम्म २२ किलोमिटर सडक दुरी रहेको छ । त्रिवेणी तर्फ ४ किलोमिटर र दुम्किबास तर्फ ७ किलो मिटर सडक निर्माण भइसकेको छ भने निकुञ्ज क्षेत्रमा ११ किलोमिटर सडक निर्माण हुन बाँकी रहेको छ ।
तपाइँको प्रतिक्रिया