माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ- अध्यक्ष दाहाल

काठमाडौँ, २८ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो । देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास टुटेको आफूले नपाएको उल्लेख गर्दै उहाँले पार्टीले विगतमा खेलेको भूमिकाका बारेमा जनतामा अगाध आस्था र विश्वास रहेको बताउनुभयो ।
पछिल्ला दिनमा माओवादीप्रति जनतामा आकर्षण बढ्दै गएको उल्लेख गर्दै उहाँले विचार र व्यवहारमा एकरुपता हुन नसक्दा एवं पार्टीभित्रको गुटबन्दी अन्त्य नहुँदा निर्वाचनमा कमजोर नतिजा देखिएको स्वीकार गर्नुभयो । आसन्न प्रतिनिसधभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि माओवादीप्रति अहिले देखिएको आकर्षणलाई बचाउन सक्नुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने लहर नै चलेको उल्लेख गर्र्दै उहाँले आगामी निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो पार्टी बन्ने बताउनुभयो ।
पार्टीभित्र विचारको भन्दा पनि नेतृत्वको आलोचना गर्ने र गुटबन्दी गर्ने अवस्था आएको भन्दै उहाँले पार्टीभित्रको गुटबन्दी हल गर्न छानबिन समिति नै बनाउनुपर्ने अवस्था देखिएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया