नवलपुरका तीन कृषि कार्यालयले सार्वजनिक गरे १७ करोड बढीको बजेट तथा कार्यक्रम

कावासोती, ३० साउन ।
नवलपुरमा रहेका तीन वटा कृषि कार्यालयले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि १७ करोड बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार कावासोतीमा जिल्लामा संघ र प्रदेश मातहत रहेका तीन वटा कार्यालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई , कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले ४ करोड ६२ लाख ८८ हजार , कृषि ज्ञान केन्द्रले ६ करोड ८४ लाख ४६ हजार र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले ५ करोड ७२ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । पूजिगत र चालुतर्फ गरेर तीन वटा कार्यालयले १७ करोड २० लाख तीन हजार बराबरको बजेट चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नवलपुरका कार्यालय प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माले कार्यक्रममा प्रस्तुतीकरण गर्दै कार्यालयले सिँचाइ पूर्वाधार तथा मर्मत सम्भार , जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग , तरकारी क्षेत्रफल बिस्तार , सुन्तलाजात फलफूलको क्षेत्र बिस्तार , नर्सरी श्रोत केन्द्र स्थापना तथा सुदृढीकरण , प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन कार्यक्रम , सहभागितात्मक कृषि प्रविधि सिकाइ लगायतका कार्यक्रम कार्यालयले गर्ने जानकारी गराउनुभयो । कार्यालयले गर्ने कार्यक्रममा केही ८५ प्रतिशत , केही ५० प्रतिशत अनुदानका कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
यस्तै कृषि ज्ञान केन्द्रका प्रमख गोपाल लामिछानेले कार्यालयबाट चालु आर्थिक वर्षमा आएको बजेट र कार्यक्रम बारेमा प्रस्तुतीकरण गर्दै आलु खेती विषेश कार्यक्रम , विषेश वाली प्रबर्द्धन , मसला वाली विकास कार्यक्रम , रैथाने वाली प्रबर्द्धन कार्यक्रम , ग्रामीण पोषण सुरक्षण कार्यक्रम , बाँझो जग्गामा व्यवसायिक खेती प्रोत्साहन कार्यक्रम , साना व्यवसायिक खेती प्रोत्साहन कार्यक्रम, वाली बिमाको बिमा शुल्कमा अनुदान , साना सिँचाइ कार्यक्रम सञ्चालन लगायतका कार्यक्रम रहेको बताउनुभयो । उहाँले कार्यालयले सञ्चालन गर्ने कार्यक्रमहरूमा बिमा कार्यक्रम प्रति किसानले खासै चासो नदिएको उहाँले बताउनुभयो । उहाँले जिल्लामा मौरी , केरा , तरकारी वालीको बिमा गरिएपनि ज्यादै न्यून रहेको बताउनुभयो । सरकारले निशुल्क रुपमा उपलब्ध गराएका कार्यक्रमप्रति किसानको उत्साहजनक सहभागिता भएमा राम्रो हुने उहाँले बताउनुभयो ।
यसैगरी भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय प्रमुख ऋषभ गुरागाईँले प्रस्तुतीकरण गर्दै कार्यालयले गर्ने कार्यक्रमहरूमा पशु स्वास्थ्य कार्यक्रम , पशु अनुवांशिक श्रोत केन्द्र स्थापना कार्यक्रम , पशु आहारा प्रबर्द्धन कार्यक्रम , पशुपक्षी तथा मत्स्य व्यवसाय प्रबर्द्धन कार्यक्रम , क्षमता अभिवृद्धि कार्यक्रम , सुशासन तथा पारदर्शिता कार्यक्रम अन्तरगत नियमित उपचार सेवा , राष्ट्रिय महत्वका रोगहरूको आउटब्रेक अन्वेषण नमुना संकलन , बर्ड फ्लु नियन्त्रण कार्यक्रम , आकस्मिक उपचार तथा रोग नियन्त्रण , व्यवसायिक गाई भैँसी फर्ममा थुनेलो परीक्षण लगायतका कार्यक्रम रहेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागि किसान तथा सरोकारवालाहरूले कृषिका विभिन्न कार्यालयबाट प्राप्त हुने सेवा सुविधाका बारेमा वास्तविक किसानसम्म अझै पनि पुग्न नसकेको गुनासो राख्नुभएको थियो । यस्तै पशु तर्फको कार्यक्रमका बारेमा धेरै किसानहरु अनविज्ञ रहको र प्रचार प्रसारको कमि रहेको बताउनुभएको थियो । किसानले पेश गर्नुपर्ने कागजातहरुको प्रकृया झन्झटिलो हुँदा कतिपय किसानहरु अनुदानबाट बञ्चित हुन परेको , पहाडी पालिकाहरुमा कार्यालयबाट हुने सेवा सुविधाको पहँच कम भएको , कृषि प्राविधिकहरु समेत पहाडी दुर्गम पालिकाहरुमा नपुग्ने , पहाडी क्षेत्रमा कुनै समस्या देखिएमा भौगोलिक विकटताका कारण समयमै सम्बन्धित निकाय नपुग्ने लगायतका समस्याहरु औल्याएका थिए ।
किसान र सरोकारवालाहरुको गुनासो लाई तीन वटै कार्यालयका प्रमुखहरुबाट सम्बोधन गर्नुभएको थियो । काम गर्नेक्रममा कतिपय अवस्थामा कार्यालय र कतिपय अवस्थामा किसानबाट समेत मकिकमजोरीहरु हुने हुँदा त्यस्ता कमिकमजोरीलाई सच्चाउदै आगामि दिनमा किसानका मागहरुलाई सम्बोधन हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यालय प्रमुखहरुले कार्यालयबाट हुने सेवाका तथा अनुदान रकार्यक्रमका सूचना कार्यालयको आधिकारी फेसबुक पेजमा सार्बजनिक गर्ने भएकोले किसानले त्यस्ता पेजहरु हेर्न आग्रह गर्नुभयो । साथै सामाजिक सजालको पहँचमा नभएका किसानलाई कार्याबाट समेत फोन मार्फत् जानकारी गराउने गरेको र जानकारी पाएका किसानले समेत अन्य किसानलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । उहाँले कार्यक्रममा बोल्दै किसानहरुको गुनासोलाई सम्बोधन हुनेगरि काम गर्न कार्यालयलाई अनुरोध गर्नुभयो । केषिमा देखिएका विभिन्न समस्याले किसानहरु आफ्नो पेशाबाट पलायन हुने अवस्था आएको जिकिर गर्दै उहाँले सार्बजनिक भएका बजेट तथा कार्यक्रमहरु सफल पार्न किसान , कार्यालय र सम्बन्धित सबै पक्ष लाग्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख राम बहादुर केसी , जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज कोइराला लगायत पालिकाका कृषि तथा पशु शाखा प्रमुख कृषि व्यवसाय गर्ने विभिन्न संस्था र कृषकहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका सूचना अधिकारी , शंकर पौडेलले सहजीकरण गर्नुभएको थियो । भने , भेटनरी तथा पशु सेवा विज्ञ कार्यालयका मत्य विकास अधिकृत सन्दिप लामिछानेले स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया