सर्दीका दुई सय जना काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश

कावासोती, १ भदौ ।
नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ र ४ ( सर्दी) का दुई सय जना नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।वडा नं. ३ को ढव्यामा वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर प्रवेश गर्नेहरूलाई नेकपा एमालेमा स्वागत गरिएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतले अबिर लगाएर स्वागत गर्नुभएको हो ।
पार्टी प्रवेश गरेपछि प्रतिनिधिमूलक रुपमा आफ्ना धारणा राख्नुभएका व्यक्तित्वले नेपाली काङ्ग्रेसले जनताको पक्षमा काम गर्न नसकेको , विकास गर्न नखोजेको देश र समुदायका लागि कुनै पनि राम्रा काम गर्न नसकेको महसुस गरेर एमालेमा प्रवेश गरेको बताउनुभएको छ । आफ्नो गाउँठाउँको विकास गर्न अब एमाले नै चाहिन्छ भन्ने आफूहरूले अनुभूति गरेको भन्दै एमाले नै जनताको पार्टी भएको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तिलक महतले एमालेले विकास गर्छ भन्ने जुन आशा र विश्वासका साथ एमालेमा प्रवेश गर्नुभएको छ । उक्त विश्वासलाई कायम राख्न आफूहरू लागिरहने बताउनुभयो । उहाँले अहिले बिनयी त्रिवेणीमा स्थानीय सरकार एमालेकै भएको कारण यहाँका सानातिना विकास निर्माणमा स्थानीय सरकारले काम गर्ने र ठूला विकास निर्माणमा आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यहाँको विकासको जिम्मा आफूहरुले लिने बताउनुभयो । उहाँले एमालेले अब बृद्धभत्ता पाँच हजार पु¥याउने बताउनुभयो ।
अब मङ्सिरमा हुने संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेलाई भोट दिएर जिताउन आग्रह गर्दै उहाँले चुनाबका बेलामा विभिन्न प्रलोभन दिएर भोट माग्न आउने हुँदा त्यस्ता प्रलोभनमा नपर्न अनुरोध गर्नुभयो । एमालेको सूर्य चिन्हमा भोट दिएर जिताउन अनुरोध गर्दै उहाँले यस ठाउँको विकास गर्न एमालेको सरकार आएपछि ठूला योजनाहरू ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले एमाले सरकारमा बस्दा यस क्षेत्रमा ठूला योजना र बजेट पारेपनि यस अघिको नेपाली काङ्ग्रेसको स्थानीय सरकारले कुनै पनि समन्वय नगरेको बताउनुभयो । केन्द्र र प्रदेशबाट आएका बजेटलाई दुर्गम क्षेत्रको विकासमा खर्च नगरेको उहाँले जिकिर गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै एमाले केन्द्रिय लेखा आयोग सदस्य पदमा जिसी श्रेष्ठले जनताको पक्षमा काम गर्ने भनेकै एमाले पार्टी रहेको बताउनुभयो । अहिलेको गठबन्धन सरकार त भ्रष्टाचारमा लिप्त् भएको उहाँले टिप्पणी गर्नुभयो । विचार र सिद्धान्त नमिल्ने पार्टीबीच गठबन्धन गरेर देशलाई लुट्ने काम अहिलेको सरकारले गरिरहेको उहाँले बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको नारा सफल पार्न अबको निर्वाचनमा एमालेलाई जिताउन उहाँले अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले देशको विकास र राष्ट्रियता जोगाउन एमाले नै आवश्यक रहेको कुरा जनताले बुझेको बताउनुभयो । अहिलेको गठबन्धन सरकारले गरेका कुकर्मबाट जनता आजित भैसकेकोले एमाले पार्टीप्रति जनताको विश्वास बढेको बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्यहरु लक्ष्मण बहादुर पाण्डे , कर्ण बहादुर सुनारी , जिल्ला कमिटि सदस्य बाबुराम पाण्डे , गाउँ कमिटि अध्यक्ष घनश्याम गिरी , भगवती बैदवार , पूर्णकला चौधरी लगायतको सहभागितामा कार्यक्रम भएको हो ।वडा कमिटि अध्यक्ष कृष्ण बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा यादव पौडेलले सहजीकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया