प्रतिनिधि सभाको कार्यकाल थप्ने सरकारको प्रस्तावप्रति निर्वाचन आयोगको आपत्ति

काठमाडौं, २० भदौ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल थप्ने गरी सरकारले प्रतिनिधि सभामा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको छ ।आयोगले आज एक विज्ञप्ति जारी गर्दै सरकारी उक्त कदमप्रति आपत्ति जनाएको हो ।‘केही नेपाल ऐन संशोधन गर्ने ऐनको माध्यमबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी सङ्घीय संसदमा विधेयक पेश भएको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ ।
प्रतिनिधि सभाको कार्यकाल सम्बन्धमा थप र पृथक व्यवस्था गरी निर्वाचन आयोगको सहभागिता वा परामर्श बिना विधेयकको मस्यौदा पेश भएको आयोगले जनाएको छ ।प्रतिनिधि सभाको कार्यकाल सम्बन्धमा गरिने नयाँ व्यवस्थाबाट थप अन्यौलता उत्पन्न हुनुको साथै यसबाट निर्वाचनको स्वच्छता र निस्पक्षतामा समेत प्रश्न उठ्न सक्ने आयोगले बताएको छ ।
नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (क) तथा धारा १८२ को उपधारा (६) को खण्ड (क) मा प्रतिनिधि सभा वा प्रदेश सभा विघटन भएको अवस्थामा समेत सभामुख र उपसभामुख अर्को निर्वाचनको मनोनयन गर्ने मिति भन्दा अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था गरेको छ ।
तपाइँको प्रतिक्रिया