यस्तो छ, गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिहरुको सय दिनका उपलब्धी

गैँडाकोट, २० भदौ ।
गैडाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले पदबहाली गरे पश्चात् १ सय दिनका उपलव्धीहरु सार्वजनिक गरेका छन् । सोमबार आयोजित कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उपलब्धीहरु सार्वजनिक गर्नु भएको हो । उपलव्धीको पहिलो बुदामा आर्थिक वर्ष २०७९ ८० को लागि नगरसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत तथा पारित भएको विषयलाई उपलव्धीको रुपमा राखिएको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले १ अर्ब २ करोड ३१ लाख २ हजारको बजेट पारित गरेको थियो ।
यस्तै विगत पाँच वर्षमा गठन हुन नसकेका नगरको लेखा समिति, शुशासन समिति, विधायन समिति गठन गरिएको उल्लेख छ । पञ्चवर्षिय आवधिक योजना निर्माणको लागि प्रकृया अगाडि बढाईएको, नगरअस्पताल व्यवस्थापन कार्यविधि अनुसार समिति गठन गरिएको जानकारी गराईएको छ ।सय दिनको अवधिमा नगरले १ वटा ऐन, १ वटा नियमावली र ५ वटा कार्यविधि निर्माण भएको नगरप्रमुख मदनभक्त अधिकारीले वताउनु भयो । जसमा गैँडाकोट नगरपालिका शिक्षा ऐन २०७९, नगरकार्यपालिका कार्यसम्पादन नियमावली २०७९, विषयगत समिति कार्यसञ्चालन कार्यविधि २०७९, विपद् राहत तथा कार्यविधि २०७९, अस्पताल, स्वास्थ्यचौकि, आधारभुत सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९, टोलविकास संस्था गठन तथा परिचान कार्यविधि र विपद व्यवस्थापन कोष संचालन कार्यविधि रहेका छन् ।
नगरपालिकाको १ सय दिन समिति बनाउनमा व्यस्त बनेको उपलब्धिले देखाएको छ । सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थपनका लागि समिति गठन, भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबारी लगत संकलनका लागि नगरस्तरीय समिति गठन भएका छन् ।नगर शिक्षा समिति गठन गरिएको छ भने स्थानीय पाठ्यक्रमको लागि स्रोत सामग्री विकास र वितरण एवम् पाठ्यपुस्तक निर्माण भैरहेको उल्लेख छ । विभिन्न वडामा सडक निर्माणको ठेक्का सम्झौता, धान पकेट कार्यक्रम सञ्चालन, कृषि सामाग्री हस्तान्त्रण गरिएको लगाएत छन् ।
तपाइँको प्रतिक्रिया