अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

काठमाडौं, २१ भदौ ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ । अतुल्य फाउण्डेशनले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिनुभएको हो । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताउनु भयो । उहाँले समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताउनु भयो । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, हीत, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताउनु भयो । उहाँले योजना, तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ पनि मन्त्रालय सचेत रहेको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया