आचरण सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा छौंः बालकृष्ण खाँण

काठमाडौं, भदौ २१ ।
राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताउनु भयो ।
उहाँले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दीहरु रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताउनु भयो । उहाँले जन्मकैदको सजाय, तेजाब आक्रमण , जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागु औषधको ओसार पसार, सम्पती शुद्धीकरण, संगठित अपराध लगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।
तपाइँको प्रतिक्रिया