सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छः राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, २४ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित किताव जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको हो । उहाँले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताउनु भयो । उहाँले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताउनु भयो ।
राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने उल्लेख गर्नुभयो । उहाँले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरुसँगको साक्षात्कारबाट पनि हुने बताउनु भयो । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उहाँको भनाई छ ।
तपाइँको प्रतिक्रिया