कांग्रेस र कम्युनिस्टले केही गर्न सकेनन् भने नयाँ पार्टीले के गर्ला – नेता सिंह

भदौ २५, काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्नुभएको छ ।शनिवार बानेश्वरमा कुमाले धारा मर्मत–सम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले रविन्द्र मिश्रप्रति इङ्गित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने बताउनुभयो । उहाँले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिनुभयो ।
देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्युनिस्टलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीले कुनै काम गर्न नसक्ने नेता सिंहले जिकिर गर्नुभयो । उहाँले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ रु भन्दै प्रश्नसमेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेता सिंहले पालिका र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा सङ्घीयतामाथि प्रश्न उठेको बताउनुभयो । उहाँले जनताको बहुमत पाउँदा समेत कम्युनिस्ट पार्टीहरूले सङ्घीयताका कानुन नबनाइदिँदा सङ्घीयतामाथि प्रश्न उठेको आरोप पनि लगाउनुभयो । नेता सिंहले ट्र्याकबाट बाहिर गएको देशलाई ट्र्याकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको दाबी गर्दै आउँदो चुनाव जितेर कांग्रेसले देश विकास गर्ने जिकिर गर्नुभयो ।
नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको दाबी गर्नुभयो । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको उहाँको जिकिर छ ।
तपाइँको प्रतिक्रिया