पैसाको बलमा चुनाव जित्न सकिँदैन : हृदयेश त्रिपाठी

नवलपुर, २४ कात्तिक
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पैसाको बलमा चुनाव जित्न नसकिने बताउनुभएको छ । बुधबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंम्बर १ अन्तर्गत प्रतापपुर गाउँपालिकाका विभिन्न वडाहरुको संयुक्त कोण सभालाई सम्बोधन गर्दै मुख्य प्रतिदोन्द्धी उम्मेदवार उद्योगपति चौधरीलाई पैसाको बलमा चुनाव जित्न नसकिने बताउनुभएको हो । देशको हरेक आन्दोलनमा सहभागी भएको बताउँदै उहाँले प्रवृतिवादी पात्रलाई स्वीकार गर्न नसकिने जिकिर गर्नुभयो ।
यसपटकको निर्वाचन नलड्ने मनशाय हुदाँहुदैपनि अर्बपति चौधरी जस्तो करछली गर्ने उम्मेदवार आफ्नो क्षेत्रमा आएको कारण चुनाव लड्न बाध्य भएको बताउनुभयो । उहाँले यस क्षेत्रको स्वाभिमानलाई कहिले झुक्न नदिने भन्दै आफुलाई अन्तिम पटक मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो । यस्तै अध्यक्ष त्रिपाठीले विनोद चौधरीलाई पाहुनाको रुपमा मात्र सत्कार गर्न सकिने तर विजयी गराउन नहुने उल्लेख गर्नुभयो ।
चौधरीले विभिन्न आश्वासन देखाएर मतदातासंग भोट मागी रहेको आरोप लगाउँदै उहाँले पैसाको भर उनलाई मत दिन नहुने बताउनुभयो । यदि पैसाको भरमा यस पटक चौधरीले चुनाव जिते भने यस क्षेत्रका नागरिकले पछुताउनु पर्ने अवस्था आउने अध्यक्ष त्रिपाठीले दाबी गर्नुभयो । उहाँले किसानको उखुको समस्या, केराखेतिको समस्या, बाढिको समस्या, बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै आफुले यी समस्या समाधान गर्नको लागि निर्वाचनमा आएको जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेशसभा सदस्य उम्मेदवार दिपकराज शर्माले बोराको बोरा नोट लिएर आएको उम्मेदवारलाई जिताउन नहुने भन्दै इमान र स्वाभिमानीलाई ख्याल गरेर मतदान गर्न आह्वान गर्नुभयो । उहाँले आफुपनि किसान भएकाले किसानको मुद्धा लिएर जनताको सेवा गर्ने भन्दै एकपटक जिताउन आग्रह गर्नुभयो ।
यस्तै अध्यक्ष त्रिपाठीले घर दैलो कार्यक्रमलाई समेत जोड दिनुभएको छ । यसपटकको निर्वाचनमा राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
तपाइँको प्रतिक्रिया