किसानको हक हितका लागी लडिरहन्छु : हृदयेश त्रिपाठी

नवलपरासी, २५ कात्तिक
पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मुल्य निर्धारण गर्न एक उच्च स्तरीय मुल्य निर्धारण आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले किसानको न्यायका निम्ति आफ्नो निर्वाचन क्षेत्रको संयुक्त कोणसभा र घरदैलो प्रचार–प्रसारका क्रममा यस्तो बताउनुभएको हो । अध्यक्ष त्रिपाठीले संसारमा कुनैपनि वस्तुको मुल्य निर्धारण स्वंयम उत्पादनकर्ता कम्पनी र व्यक्तीले गर्ने गरेपनि किसानले भने आफुले उत्पादन गरेको वस्तुको मुल्य निर्धारण गर्न नपाउनु नै दुःखको कुरा भएको उल्लेख गर्नुभयो ।
उहाँले अहिलेसम्म किसानले उत्पादन गरेको वस्तुको मुल्य निर्धारण व्यापारी र विचौलियाले गर्ने गरेको भन्दै आपत्ती जनाउनुभयो । अध्यक्ष त्रिपाठीले उखु किसानले अझैपनि आफ्नो भुक्तानी रकम नपाएको भन्दै किसानका समस्या जिउँका तिउ रहेको जिकिर गर्नुभयो । राजनीतिक दलका हरेक नेताहरुले आफुलाई किसानको छोरा भन्ने गरेपनि पदमा पुगेपछि बिर्सिने गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष त्रिपाठीले किसानको समस्या समाधानका लागी विगत लामो समयदेखी लड्दै आएको भन्दै आगामी दिनमा पनि किसानको हक हितका लागी लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष त्रिपाठीले नेपालमा किसान, मध्यम र सानो व्यवसायहरुका लागी ठुलठुल्ला घरनाहरुले लगानी नगरेको भन्दै दुःख व्यक्त गर्नुभयो । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागी जप्रपा, एमाले र जसपाको तर्फबाट साझा उम्मेदवार बनेका अध्यक्ष त्रिपाठीले किसानको समस्यालाई नै चुनावी मुल एजेण्डा बनाएका हुन् ।
तपाइँको प्रतिक्रिया