राजनीतिलाई व्यापारको पेशा बनाउन चौधरी प्रत्यक्ष रुपमा चुनावी मैदानमा उत्रिएको अध्यक्ष त्रिपाठीको आरोप

नवलपरासी, १ मंसिर
पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले उद्योगपति चौधरीकै कारण नेपाली कांग्रेसमा लामो समयसम्म बसेर पार्टीलाई योगदान पु¥याएका नेताहरु पछि पर्नु परेको बताउनुभएको छ ।
बुधबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ अन्र्तगत प्रतापपुर गाउँपालिका– ७ सूर्यपुरामा आयोजना भएको विशाल कोण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष त्रिपाठीले अहिले नेपाली काँग्रेस पार्टीलाई चौधरीले सिजी कम्पनी बनाएको आरोप लगाउनुभयो । चौधरीले मतदातालाई लोभ्याउन मोबाइल, साइकल, र मेसिन लगाएत विभिन्न वस्तुहरु बाँडिरहेको उहाँले आरोप लगाउनुभयो ।
अध्यक्ष त्रिपाठीले यो निर्वाचन यस क्षेत्रका जनताको स्वाभिमान, सम्मान र प्रतिष्ठाका लागी भएको भन्दै आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले यस क्षेत्रका जनता स्वाभिमान भएको भन्दै स्वाभिमानका लागी कुनै सम्झैता गर्न नसक्ने दावी गर्नुभयो । अध्यक्ष त्रिपाठीले यस पटकको निर्वाचन बाध्यताले लड्न परेको भन्दै यो निर्वाचन नै आफ्नो अन्तिम निर्वाचन भएको बताउनुभयो ।
उहाँले यस क्षेत्रको स्वाभिमान र प्रतिष्ठाका लागी उद्योगपति चौधरी जस्ता प्रवृतिवादी पात्र स्वीकार नहुने जिकिर गर्नुभयो । अध्यक्ष त्रिपाठीले राजनीतिलाई व्यापारको पेशा बनाउन चौधरी प्रत्यक्ष रुपमा चुनावी मैदानमा उत्रिएको आरोप लगाउनुभयो । प्रतिस्पर्धामा रहेको चौधरी मुलुकको सबैभन्दा धनाढ्य व्यक्ति भएपनि कर तिर्नेमा २९ नम्बरमा पर्ने भन्दै उहाँले प्रश्न गर्नुभयो ।
अध्यक्ष त्रिपाठीले अर्बपति चौधरीको पैसामा विक्यो वा डरले मैदान छोड्यो भन्ने आरोप जस्ता कलंकबाट जोगिन चौधरीको चुनौती सामना गर्न आफु निर्वाचन लडाँईमा उत्रिएको जिकिर गर्नुभयो ।
यस निर्वाचन क्षेत्रमा जनता प्रगतिशिल पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीको चुनावी तालमेल छ भने कांग्रेसको सत्तापक्ष ५ दलिय गठबन्धन छ । यिनै कारण पनि यसपटकको निर्वाचनमा ध्यानकेन्द्रको रुपमा यस क्षेत्रलाई अर्थपूर्ण हेरिएको छ । राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
तपाइँको प्रतिक्रिया