संसदमा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने

काठमाण्डौँ, १० मंसिर ।
संसदमा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने देखिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महिलाहरुको निर्वाचित हुने सख्या कम भएपछि संसदमा प्रतिनिधित्व कमजोर हुने देखिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा ८ जना मात्रै महिला निर्वाचित भएका छन् । मतगणना भइरहेका तीन क्षेत्रमा महिला कडा प्रतिस्पर्धामा छन् । समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा एकातिर संसद्मा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ भने अर्कोतिर समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने सम्भावना बढेको छ ।
२ हजार ४ सय १२ उम्मेदवारमध्ये २२५ जना मात्र महिला थिए, तीमध्ये एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेपाली कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका छन् । संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने भनेको छ । तर, यस पटक प्रत्यक्षमा सबै पुरुष मात्रै निर्वाचित हुने र समानुपातिकमा थ्रेसहोल्डसमेत नकटाउने दलको संख्या धेरै हुँदा महिलाको प्रतिनिधित्व घट्ने सम्भावना देखिएको छ ।
तपाइँको प्रतिक्रिया