गैँडाकोटमा सामूहिक बेलविवाह, २६ कन्याहरुको सहभागिता

गैँडाकोट, १० मंसिर ।
नवलपरासी ( बर्दघाट सुूतापुर्व) को गैँडाकोटमा सामूहिक बेलविवाह गरिएको छ । नेवा मिसा दबू गैँडाकोट नगरसमितिको आयोजनामा गैंडाकोट २ मा रहेको श्रीराम पार्टी प्यालेसमा शनिबार बेल विवाह समुद्घाटन भएको हो । दुई दिनसम्म सञ्चालन हुने उक्त बेल विवाहको कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ती कोईरालाले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख कोइरालाले नेवा मिसा दबू गैंडाकोट नगरसमितिले समुदायमा एकता ल्याउने, परम्परा जोगाएर पुस्ता हस्तान्तरण गर्ने र नेवारी संस्कृतिको संरक्षणमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले महिलाहरू सामाजिक कार्यहरूमा अग्रसर भएर अगाडि बढनुपर्ने सुझाव दिदै नगरपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बेल विवाहमा २६ जना कन्याको सहभागिता रहेको छ । कार्यक्रममा भक्तपुर निवासी नेवारी पण्डित हरशरण राजोपाध्यायले बेल विवाहको सम्पूर्ण कर्म गराउनु भएको थियो । कार्यक्रममा नेवा मिसा दबूकी अध्यक्ष सीता श्रेष्ठले नेवा मिसा दबू गैंडाकोट नगरसमितले सामूहिक बेल विवाह गर्ने कार्यक्रम विगत चार वर्ष देखि गर्दै आईरहेको जानकारी दिनु भयो । उहाँले नेवारी संस्कृतिअनुसार महिलाहरू अगाडि बढनुपर्ने आवश्यकता औँल्याउँदै यस्तो पवित्र कार्यमा सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिका निवर्तमान उपप्रमुख विष्णु कुमारी कँडेल, ईलाका प्रहरी गैंडाकोटका प्रमुख प्रशान्त श्रेष्ठ, गैंडाकोट वडा नं दुई का निवर्तमान अध्यक्ष धुर्व पौडेल, नेवा देयदवु नवलपुर जिल्ला अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नेवा देयदवु गैँडाकोट नगर समिति अध्यक्ष शिवजंग श्रेष्ठ, नारायणी नवदुर्गा मन्दिरका अध्यक्ष अमृत श्रेष्ठ लगायतको उपस्थीती रहेको थियो ।
नेवा मिसा दबूकी अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवा मिसा दवुकी सचिव शर्मिला श्रेष्ठ र नेवा देय दवुका सचिव राजकुमार श्रेष्ठले गर्नुभएको थियो । यस्तै नेवा देय दवुकी महिला सचिव श्रीमाया श्रेष्ठले उपस्थीत सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
https://fb.watch/h4bLjK1Yd0/
तपाइँको प्रतिक्रिया