नवलपुरको मध्यविन्दु अस्पतालमा डायलासिस सेवा सुरु

ज्ञानु पंगेनी, १३ मंसिर ।
नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । मंगलबार एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले सेवाको उद्घाटन गर्नुभएको छ । उहाँले उद्घाटनमा बोल्दै स्वास्थ्यका विषय वस्तुलाई तिनै तहको सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो । मानिषको जिवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वास्थ्य नै रहेको बताउँदै उहाँले भौतिक पूर्वाधारमा मात्रै नभई स्वास्थ्यको क्षेत्रमा उचित बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गण्डकी प्रदेशका सबै अस्पतालहरुमा निति कार्यक्रम सहित बजेटले सम्बोधन गरिएको समेत बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा हरेक ठाउँमा सम्बोधन गरेको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारले महिला , बालबालिका , अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न कार्यक्रम मार्फत् सम्बोधन गरिएको बताउनुभयो ।जिल्ला अस्पतालमा डाइलासिस सेवा प्रदान गर्न ४ वटा उपकरण जडान गरिएको छ । आवश्यक उपकरण जडान तथा परिक्षण पश्चात डाइलासिस सेवा सुरु गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो ।
डाइलासिस सेवा प्रदान गर्न चार वटा उपकरण भएपनि हाल तीनवटा मात्रै सञ्चालन गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । एक दिनमा अस्पतालमा १२ जना सम्मलाई डाइलासिस सेवा प्रदान गर्न सकिने उहाँले बताउनुभयो । अहिले प्रारम्भिक चरणमा रहेकाले दैनिक तीन जना सम्मलाई सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।
यस अघि उपकरण आएपनि लामो समय सम्म सेवा सुरु हुन सकेको थिएन । बिमा बोर्डबाट अनुगमन गरि निशुल्कमा सूचिकृत गराउन भन्दै अस्पतालमा उपकरण जडान र परीक्षणको काम सकेर समेत सेवा सुरु हुन सकेको थिएन । अहिले बिमा बोर्डबाट अनुगमन नभएपनि अस्पतालको सामाजिक सेवा युनिटबाट लाग्ने खर्च बेहोर्ने गरि सेवा सुरु गरिएको हो । असार महिनाको अन्तिम तिर आवश्यक सबै तयारी पुरा गरि जिल्ला अस्पतालबाट सेवा दिने तयारी गरिएको थियो । तर निशुल्कमा सूचिकृत नगरी सेवा दिँदा श शुल्क गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु गर्न समस्या परेको थियो ।
नवलपुरमा जिल्ला अस्पतालबाट डाइलासिस सेवा सुरु हुँदा यस क्षेत्रका सेवाग्राहीलाई लाभ पुगेको छ । अन्यत्रबाट डायलासिस सेवा लिइरहेकाले जिल्लाबाट सेवा पाउने भएपछि सहजता भएको छ । यस अघि जिल्ला बाहिर चितवन लगायतका ठाउँमा पुगेर डाइलासिस गर्नुपर्ने बिरामीको बाध्यता रहेको थियो । जिल्ला अस्पतालमा डाइलासिस सेवा सुरु गरेपछि यो समस्या हटेको छ ।
तपाइँको प्रतिक्रिया