नवलपुरमा बढ्यो धानको उत्पादन

ज्ञानु पंगेनी
कावासोती, १५ मंसिर
नवलपुरमा यस वर्ष वर्र्षे धानको उत्पादनमा वृद्धि भएको छ ।कृषि ज्ञान केन्द्र नवलपुरले यस वर्ष धान उत्पादनमा कमी आउने आकलन गरेको थियो । तर उत्पादनमा भने वृद्धि भएको छ ।
यस वर्ष जिल्लामा धान उत्पादन गत वर्षभन्दा एक हजार मेटिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभयो । जिल्लामा यस वर्ष ७६ हजार ९५६ मेट्रिक टन धान उत्पादन भएको पौडेलले बताउनुभयो ।
जिल्लामा यस वर्ष १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइ गरिएको थियो । रोपाइको क्षेत्रफल बिस्तार भने नभएको पौडेलको भनाई छ । यस वर्ष प्रतिहेक्टर ४ दशमलब ०९ प्रतिशतले उत्पादकत्वमा वृद्धि भएको पौडेलले जानकारी दिनुभयो । गत वर्ष ७५ हजार ८२७ मेट्रिक टन धान उत्पादन भएके थियो ।
यस वर्ष वर्षे धानमा रोग किराको प्रकोप देखिएको हुँदा उत्पादन घट्न सक्ने आकलन ज्ञान केन्द्रको थियो । उत्पादनको मुख्य क्षेत्र कावासोती , गैंडाकोट र देवचुली नगरपालिकामा धानमा सेतो झिँगाको प्रकोप देखिएको थियो । जसका कारण यस वर्ष उत्पादनमा कमी आउँछ कि भन्ने अनुमान गरिएको थियो । तर , किसानले रोग किराको समयमै नियन्त्रण गरेका कारण उत्पादनमा कमी हुन नपाएको उहाँले बताउनुभयो । उत्पादन वृद्धि हुने अन्य कारणमा गत वर्षको तुलनामा यस वर्ष किसानले समयमै मल पाउनु , रोपाइ शतप्रतिशत हुनु , हाइब्रिड धान लगाउने प्रचलन बढ्नु रहेको पौडेलले बताउनुभयो । ‘धानमा केहि रोग देखिएको थियो, यसले उत्पादन घटाउने चिन्ता थियो,तर समयमै रोगको नियन्त्रणले उत्पादनमा खासै असर गरेन’ सूचना अधिकारी पौडेलले ‘भन्नुभयो गतवर्षको तुलनामा जिल्लामा मलको समस्या खासै भएन, रोपाई प्रतिशत राम्रो भयो यसले उत्पादन बढाउन सहयोग पुग्यो।’
यहाँका किसानले बढि मात्रामा सावित्री धान खेती गर्दै आएका छन् । त्यसपछि उन्नत जातमा राम धान , सावा मन्सुली र विभिन्न प्रकारका हाइब्रिड धान खेती हुने गरेको पौडेलले बताउनुभयो ।
ज्ञान केन्द्रका प्रमुख गोपाल प्रसाद लामिछानेका अनुसार मुख्यगरी जिल्लाको दक्षिणी भागमा धान खेती हुने गरेको छ । जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिकाको दक्षिणी क्षेत्रमा धान खेती राम्रो हुने गरेको प्रमुख लामिछानेले बताउनुभयो । त्यस्तै पहाडी क्षेत्र बुलिङटारमा पनि धानको उत्पादन राम्रो रहेको उहाँको भनाई छ ।
जिल्लामा उत्पादन भएको वर्षे धानको बजारको समस्या खासै नरहेको उहाँले बताउनुभयो । वर्षे धान आधिकांश किसानले आफै उपभोग गर्ने र बाँकी रहेको जिल्ला भित्र र बाहिर समेत निर्यात हुने गरको छ । तर , हिउँदे धानको भने बजारमा केही समस्या रहेको उहाँ बताउनुहुन्छ । ‘वर्षे धानको बजार समस्या खासै जिल्लामा छैन, तर हिउँदे धानको भने बजाररिकणमा समस्या हुने गरेको छ’ प्रमुख लामिछानेले भन्नुभयो ।
तपाइँको प्रतिक्रिया