गैँडाकोट वडा नं. ४ को आफ्नै कार्यालय भवन बन्ने, गरियो शिलन्यास

गैँडाकोट, १७ मंसिर
नवलपुरकोे गैँडाकोट नगरपालिका वडा नम्बर ४ को आफ्नै भवन बन्ने भएको छ । वडाको गैंडाकोट खानेपानी पम्पिङ स्किम नजिकैकोे सार्वजनिक जग्गामा २३ सय स्क्वायरफुट क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो ।
शनिबार आयोजित कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, सोही वडाका वडाध्यक्ष तेजप्रसाद घिमिरे, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, वडाका जेष्ठ नगरिकहरु लगायतको उपस्थितिमा भवन निर्माणको शिलान्यास गरिएको थियो ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख र स्थानीय सरकारले ५० लाख गरी जम्मा १ करोडको बजेट विनियोजन भएको वडाध्यक्ष तेजप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भवन निर्माणमा भक्तपुरको चारुमति कन्सट्रक्सनको टेण्डर रहेको जानकारी दिँदै आगामी आर्थिक बर्षको असार मसान्तसम्म निर्माण सम्पन्न हुँनेमा विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष घिमिरेका अनुसार भवन बालमैत्री, अपाङ्ग मैत्री र जेष्ठ नागरिक मैत्री बन्नेछ । भवनको माथिल्लो तल्लामा ट्रस लगाउने र तल ४ वटा कोठा हुनेछ । निर्वाचनमा वडामै कार्यालय निर्माण गर्ने आफ्नो प्रमुख एजेण्डा अनुरूप कार्यालय भवनको शिलान्यास भएको वडाध्यक्ष घिमिरेको भनाई थियो ।
तपाइँको प्रतिक्रिया