गैँडाकोट १६ द्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

गैँडाकोट, २० मंसिर
गैँडाकोट नगरपालिका वडा नम्वर १६ ले वडाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । वडाले चालु आर्थिक वर्षमा गरिव तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि रु ८ लाख रुपैँया विनियोजन गरेको थियो । सोही कार्यक्रम अन्तर्गत मंगलबार एक कार्यक्रमका विच वडाले अमरज्योती माध्यमिक विद्यालयमा नर्सरी देखी कक्षा १० सम्म अध्ययन गर्ने ४१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो । वडाध्यक्ष विनोदकुमार मल्लका अनुसार सो विद्यालयका ४१ जना विद्यार्थीका लागी छात्रवृत्ति स्वरुप रु ४ लाख २६ हजार रुपैँया प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले अब एक वर्षसम्म शैक्षिक शुल्क वापतको रकम विद्यालयलाई बुझाउनु पर्नेछैन ।
वडा नम्बर १६ मा आफ्नो विद्यालय छैन । सो वडाका वालवालिका अन्यत्र वडामा रहेका विद्यालयमा अध्ययनका लागि जाने गर्दछन् । आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरूलाई विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको वडाध्यक्ष मल्लले बताउनुभयो । आफ्नो वडाका गरिव तथा विपन्न वालवालिकाको पहिचान गरी उनीहरु अध्ययन गर्ने विद्यालयमार्फत छात्रवृत्ति प्रदान गरिएको उहाँको भनाई थियो ।
वडाले वडाबाट वालउद्य आधारभूत विद्यालयमा नर्सरीदेखी ५ कक्षासम्म अध्ययन गर्न जाने १४ जना र लक्ष्मी उच्च माध्यमिक विद्यालयमा नर्सरीदेखी कक्षा १२ सम्म अध्ययन गर्ने ५३ जना विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्नेछ । यसका लागि वडाले वालउद्य आधारभूत विद्यालयका लागि ९० हजार र लक्ष्मी उच्च माध्यमिक विद्यालयका लागि २ लाख ८४ हजार रुपैँया छुट्याइसकेको छ ।
अमरज्योती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवद्र्धन ज्ञवालीले शैक्षिक अवस्था सुधारमा वडाको सहयोगले ठूलो टेवा पुग्ने बताउनुभयो । अमरज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त सापकोटाले राज्यले निःशुल्क शिक्षा भनेपनि त्यस्को व्यवस्थापनमा कठिनाई भइरहेको अवस्थामा वडाले प्रदान गरेको रकमले सघाउ पुग्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
शिक्षक प्रतिनिधि रोशन मल्लले सहजिकरण गर्नुभएको सो कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नारायण देवकोटा, वडा सदस्यहरु दिनेश देवकोटा, देवी अधिकारी, सरिता दर्जी लगायतको उपस्थिती रहेको थियो ।
(अमरज्योती माविले वार्षिकोत्सव मनाउने)
गैँडाकोट १७ मा रहेको अमरज्योती माध्यमिक विद्यालयले आफ्नो ४३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । विद्यालयले मंसिर २५ गते वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सवको पुर्व सन्ध्यामा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा सोमबार अभिभावक लक्षित उच्च रक्तचाप एवं मधुमेह परीक्षण शिविर सम्पन्न गरेको छ । त्यस्तै यहि २३ गते अन्तर विद्यालय आधारभूत तह हाजिरिजवाफ प्रतियोगिता र कक्षा ८ का विद्यार्थीले फुड स्टल सञ्चालन गर्ने अमरज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त सापकोटाले जानकारी दिनुभयो ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेको शिक्षक प्रतिनिधि रोशन मल्लले जानकारी दिनुभयो । अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न खेल प्रतियोगिता चलिरहेको उहाँले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया