आज नेवारी समुदायमा ‘यःमरी पुन्हि’ मनाइँदै

काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदै छन्। चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।
हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।
नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।
धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।
तपाइँको प्रतिक्रिया