मध्यविन्दु नगर अस्पतालको शिलन्यास

चोरमारा, २३ मंसिर
नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा १५ शैयाको सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण शुरु भएको छ । अस्पताल भवनको शुक्रबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले शिलान्यास गर्नुभयो ।
मध्यविन्दु नगर प्रमुखमा अधिकारी निर्वाचित भएपछि मध्यविन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरउन्नति गरिएको थियो । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता भई निर्माणको काम अगाडी बढेको छ ।
दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी ह्याविट्याट देवचुली जे.वि., काठमाण्डौंसंग मध्यविन्दु नगरपालिकाले २०७९ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको छ । भ्याट समेत १७ करोड ५६ लाख २८ हजार एक सय ८७ रुपैया लागतमा १५ शैयाको अस्पताल निर्माण सम्पन्न गर्नेगरी ठेक्केदार कम्पनीसंग सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो ।
अस्पताल निर्माण पछि मध्यविन्दु नगरपालिका संगै अन्य पालिका तथा जिल्लाका सेवाग्राहीहरु लाभाम्वीत हुने मध्यविन्दु नगरपालिका प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभयो । स्थानीय तह गठनपछि प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भएपनि आवश्यक स्वास्थ्य सुविधाको अभावमा नीजि स्वास्थ्य क्लिनिक वा अन्य जिल्ला पुग्नु परेको स्थानीयको बाध्यता हट्ने उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकाले स्वास्थ्य सेवालाई आधारभूत प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको अधिकारीले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाले यस अगाडी जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम मार्फत प्रत्येक महिना घरमा नै पुगेर स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गर्ने व्यवस्था समेत मिलाएको छ । नगरपालिका कार्यालय परिषरमा सुविधा सम्पन्न स्तनपान कक्ष निर्माण, नगर अस्पताल सञ्चालन कार्यविधि निर्माण तथा समिति गठन लगायतको काम यस अगाडी गरिसकेको अधिकारीले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया