रामचन्द्रले प्रचण्ड र बाबुरामलाई भनेः मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नूस्

काठमाडौं, २३ मंसिर ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो। उक्त भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी थिए।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ। समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ। दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन्।
भेटमा क्रममा कांग्रेस नेता पौडेलले आफूलाई प्रधानमन्त्री बनाउने भूमिका खेल्न प्रचण्ड र भट्टराईसँग सहयोग मागेका छन्। उनले छलफलका क्रममा अब कांग्रेसको संसदीय दलको नेतामा आफू पनि लड्ने बताएको प्रचण्ड निकट स्रोतले जनाएको छ।रासस
तपाइँको प्रतिक्रिया