फ्रान्स सरकारद्वारा युवाहरूलाई कन्डम निः शुल्क गर्ने घोषणा

फ्रान्स, २३ मंसिर ।
फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोले १८ देखि २५ वर्ष उमेरका युवालाई कन्डम निःशुल्क हुने घोषणा गरेका छन् । निःशुल्क कन्डम फार्मेसीहरू मार्फत निः शुल्क उपलब्ध गराइने राष्ट्रपतिले बताएका छन् । युवाहरुमाझ नचाहेको गर्भमा वृद्धि देखिएकाले तिनलाई कम गर्ने प्रयासमा यो कदम चालिएको राष्ट्रपति म्याक्रोले बताएका छन् ।‘यो नचाहेको गर्भ निरोधकको लागि सानो क्रान्ति नै हो,’ इमानुएल म्याक्रोनले पश्चिमी फ्रान्सस्थित पोइटियर्सको उपनगर फन्टेन–ले–कोम्टेमा युवाहरूसँग स्वास्थ्य बहसको क्रममा कन्डम निः शुल्क हुने घोषणा गरेपछि भने ।
सरकारले यही वर्ष २५ वर्ष मुनिका सबै महिलाहरुलाई निःशुल्क गर्भनिरोधक सेवा ल्याएको थियो । अहिले त्यसलाई विस्तार गर्दै पुरुषले प्रयोग गर्ने अस्थायी गर्भ निरोधक साधन पनि निः शुल्क गरिएको छ । विशेषत विपन्न युवायुवतीहरू आर्थिक कारणले गर्भ निरोधक प्रयोग गर्नबाट बन्चित हुनु नपरोस् भनेर यो कदम उठाइएको बताइएको छ ।
यसअघि पनि डाक्टर वा सुडेनीले रिफर गरेको अवस्थामा फ्रान्सको राष्ट्रिय स्वास्थ्यसेवा प्रणालीले निःशुल्क कन्डम दिन्थ्यो । विगतमा फ्रान्सका नीति नियामकले कन्डमलाई एड्स र अन्य यौन रोगको विस्तारसँग लड्ने साधनको रुपमा मात्र हेर्थ्यो ।
फन्टेन–ले–कोम्टेमा भएको वहसमा फ्रान्समा यौन शिक्षाको समग्र अवस्थाबारे बोल्ने क्रममा राष्ट्रपति म्याक्रोनले आफूहरू यस विषयमा धेरै राम्रो अवस्थामा नरहेको स्वीकार्दै भने– ‘वास्तविकता हाम्रा पाठ्यक्रमका सिद्धान्तभन्दा धेरै फरक छ । यो त्यस्तो क्षेत्र हो, जहाँ हामीले हाम्रा शिक्षकहरूलाई अझ राम्ररी प्रशिक्षित गर्न आवश्यक छ ।’ एजेन्सी
तपाइँको प्रतिक्रिया