अटोमोबाइल्स विलासीको चीज हो भने नीति नियम बनाउन मन्त्रालय जानेहरु साइकल चढेर जानु पर्छ -केन्द्रिय अध्यक्ष थापा

चितवन, २४ मंसिर।
चितवन अटोमोबाइल्स एशोसियसन अफ नेपालले शनिबार २१ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै अटोमोबाइल्स एशोसियसन अफ नेपाल नाडाका केन्द्रिय अध्यक्ष ध्रुव बहादुर थापाले राष्ट्रले अटोमोबाइल्सहरुलाई विलासीको साधन भन्दैे आयतमा रोक लगाएको र राष्ट्र बैंकले लगानी नगरेको प्रति खेद प्रकट गर्नु भयो । उहाँले मन्त्रीहरुलाई लक्षीत गर्दै अटोमोबाइल्स विलासीको चीज हो भन्नेहरु नीति नियम बनाउन साइकल चढेर मन्त्रालय जानु पर्ने भन्दै कटाक्ष गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले गत बर्षहरुमा राज्यलाई धेरै राजस्व बुझाउने र अधिकतम रोजगारी दिने क्षेत्रको रुपमा अटोमोबाइल क्षेत्र रहेको स्मरण गर्दै सरकारको असन्तुलन मौद्रिक नीतिले अटोमोबाइल्स क्षेत्रले मात्रै नभएर राष्ट्रले रोजगारी गुमाउनु परेको टिप्पणी गर्नु भयो । उहाँले सरकारी निकाय यस्तो परिस्थतिमा मौन भएर बस्न नहुने बताउनु भयो ।
यस्तै चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले अटोमोबाइल्स व्यवसाय कोभिड र आर्थिक मन्दीले गर्दा निकै नै शिथिल र धरासायी बन्दै गएको अवस्थामा राज्यले पनि उचित नीति र नियम नबनाउँदा निकै नै समस्या भोग्नु परेको बताउनु भयो । भण्डारीले सबै अटोमोबाइल्स व्यवसायीहरुलाई आफ्नो हक हितको निम्ति एकाकार भएर जागरुक हुन अनुरोध गर्नुभयो ।संस्थाका सचिव भीम प्रसाद सुवेदीले आर्थिक वर्ष ७८÷७९ को प्रतिवेदन तथा आर्थिक वर्ष ७९÷८० को भावी कार्य योजनाहरू प्रस्तुत गर्नु भएको थियो । यस्तै संस्थाका कोषाध्यक्ष जीतबहादुर सेढाईंले आर्थिक वर्ष ७८÷७९ को आय व्यय प्रतिवेदन तथा आर्थिक वर्ष ७९÷८० का लागि भावी कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा चितवन अटोमोबाइल्स एशोसियसन र मनकामना हस्पिटल बीच स्वास्थ्य सहुलियत सम्बन्धमा सम्झौता पनि भयो । सम्झौता पत्रमा चितवन अटोमोबाइल्स एशोसियसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी र मनकामना हस्पिटलका संचालक कविता खतिवडाले हस्ताक्षर गर्नु भएको थियो ।
संस्थाले संस्थाका सदस्य अभिभावकका छोरा छोरी मध्येबाट एसईईमा सर्वोत्कृष्ट नजिता ल्याउने एक छात्रलाई प्रशंसा पत्र द्वारा सम्मान गरेको थियो । यस्तै उत्कृष्ट कार्य गर्ने चितवनका तीन जना ट्राफिक प्रहरी लाई नगद सहित कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा अटोमेकानिकल व्यवसायिक संघका अध्यक्ष प्रेम प्रसाद पाण्डे, मनकामना हस्पिटलका संचालक कविता खतिवडा, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख धर्म अधिकारी, अटोमोबाइल्स साकोसका अध्यक्ष कृष्ण प्रसाद काफ्ले, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष कुल बहादुर क्षेत्रीले राख्नु भएको थियो भने कार्यक्रको सहजीकरण संस्थाका सचिव भीम प्रसाद सुवेदीले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया