गैँडाकोट १ मिलनचोकमा ६७ जनाले गरे रक्तदान

गैँडाकोट, २६ मंसिर ।
गैँडाकोट १ मिलनचोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा १७ महिला सहित ६७ जनाले रक्तदान गरेका छन् । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र निकेशबाबु स्मृति प्रतिष्ठानको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी चितवनको संयोजनमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले रगतको अभावले धेरै विरामिको मृत्यु हुने समस्यालाई कम गर्न रक्तदान नितान्त जरुरी रहेको बताउनु भयो । नगर प्रमुख अधिकारीले पहिलो रक्तदाता टुकराम सुवेदीलाई रक्त ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले गण्डकी बचत तथा ऋण सहकारी र निकेशबाबु स्मृति प्रतिष्ठानको सहकार्यमा वडाले पनि विभिन्न क्षेत्रमा काम गर्ने बताउनु भयो । कार्यक्रममा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं निकेशबाबु स्मृति प्रतिष्ठानका सचिव पोषणराज सुवेदीले अब छिट्रै स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनु भयो ।
निकेशबाबु स्मृति प्रतिष्ठानका संरक्षक भरतबाबु कंडेलले आगामि दिनमा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने चाहाना राख्नु भयो । खुल्ला रक्तदान कार्यक्रमका संयोजक नरहरी सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण निकेशबाबु स्मृति प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण कंडेलले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया