विश्वकप : मेस्सीको नाम फाइनलको रात , एम्बाप्पे र गज्जबको रोमाञ्चकता रहनेछ याद

लियोनल मेस्सी फुटबल विश्व कपको नजिक पुगे । थोरै झुके र असाध्यै सुस्त र नम्र भएर ट्रफीलाई चुम्बन गरे । र जब विश्व कप हातमा आयो, उनले भने, ‘म यसलाई भित्रैदेखि चाहन्थेँ । मलाई लागिरहेको थियो कि भगवानले यो मलाई दिनेछन् । यो मेरो क्षण हो ।’ कतारको लुसेल रंगशालामा आइतबार जुन कहानी लेखियो, त्यो कुनै ‘परी कथा’ जस्तो लाग्छ । तर मेस्सीका लागि मात्र होइन ।
मनमा कुनै उद्देश्य लिएर यो कथाको कहानीमा समावेश भएका हरेक पात्रको भागमा सफलता, प्रसिद्धि र खुसी आयो । कसैको भागमा थोरै बढी त कसैको भागमा थोरै कम ।
तर झोली सायदै कसैको खाली रह्यो होला । यसमा फाइनल खेलिरहेका अर्जेन्टिना र फ्रान्सका टोलीबाट तटस्थ फुटबलको मजा लिइरहेका टोलीका समर्थक र फ्यानहरू पनि पर्छन् ।
मेस्सीले भने, ‘यो पूर्ण रुपमा पागल बनाउने खालको खेल थियो ।’
‘सास रोकिएको थियो’
मेस्सी त मैदानमा थिए, जो बाहिर बसेर वा टिभी सेटमा खेल हेरिरहेका थिए, यो खेलको विषयमा उनीहरुको धारणा पनि भिन्न थिएन ।
इङ्ल्यान्डका पूर्व खेलाडी एलन शियररले भने, ‘हाम्रो सास रोकिएको थियो । यो अविश्वसनीय फाइनल थियो । मैले यस्तो खेल पहिले कहिल्यै हेरेको थिइनँ । मलाई लाग्दैन कि म यस्तो खेल फेरि हेर्न पाउनेछु । यो हैरान गर्ने खालको खेल थियो ।’
मजा हेर्नुहोस्, यो त्यो फाइनलको कुरा भइरहेको छ जहाँ प्रतिस्पर्धा सुरु भएको ७० मिनेटसम्म खेल यति एकतर्फी थियो कि सोसल मिडियामा थुप्रै प्रयोगकर्तालाई यसलाई ‘स्क्रिप्टेड’ अर्थात् नतिजा पहिला देखि नै निश्चित भइसकेको आरोपसमेत लगाए ।
त्यतिन्जेलसम्म सबै लियोनल मेस्सी र अर्जेन्टिनाको टोलीको पक्षमा चलिरहेको थियो । नियतिले आधुनिक युगका ‘महान’ फुटबल खेलाडीलाई कतारबाट रित्तो हात नपठाउने निर्णय गरेझैँ ।
त्यतिबेलासम्म फ्रान्सको टोली अर्जेन्टिनाको अगाडि फिक्का देखिन्छ । यो टिम लगातार दुई विश्वकप जितेर ब्राजिलको ६० वर्ष पुरानो कीर्तिमानको बराबरी गर्न आएको त थियो तर सजिलै हार्ने जस्तो देखिएको थियो ।
यसरी जितेको भए पनि मेस्सी, अर्जेन्टिना र उनका समर्थक ‘क्लाउड नाइन’ मा पुग्ने निश्चित थियो तर त्यो नतिजाले कतारको विश्व कप फाइनलको कथालाई ‘अमरत्व’ दिन सक्दैनथ्यो ।
जितमा प्रशंसक झुम्ने त थिए तर उनीहरुलाई तीब्र गतिमा धड्किरहेको आफ्नो मुटुले छाती फोडेर बाहिर नै निस्कुँला झैँ गरेको अनुभव थाहा हुने थिएन । उनीहरु आफूसँग म्याच हेर्नेहरुसँग शर्त लगाउन सक्दैनथे कि ‘भन त कसले जित्ला ?’
त्यतिबेला फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई ‘प्रोटोकल’ को सीमाभन्दा पर कुनै किशोर उमेरका प्रशंसकले झैँ मुठ्ठी कस्दै र दाँत किट्दै उफ्रिरहेको देखिँदैथे ।
उन्माद र अनियन्त्रित भावनाहरूको बाढी आँखामा देखिँदैनथ्यो ।
सबैभन्दा रोचक फाइनल
तर, यो कथामा यी सबै हुनुपर्ने थियो । ८० औं मिनेटमा पहिलो गोल, दुई मिनेटभित्र र अतिरिक्त समयमा तेस्रो गोल गरे। फाइनलमा ह्याट्रिक गरेर एमबाप्पेको उत्कृष्ट खेलले फ्रान्सको हैसियत र रोमाञ्चक खेल उत्कर्षमा पुगेको थियो ।
र यसले एक सिधा सादा लगभग ‘बोरिङ’ जस्ता लाग्ने कहानीमा एकपटि अर्को यस्तो मसला भर्न थाल्यो जसको कल्पना व्यावसायिक फिल्ममा अन डिमान्ड कहानी लेख्नेहरुले पनि गर्न सक्दैनथे ।
बेलायतका पूर्व खेलाडी रियो फर्डिनेन्डले भने, ‘जे जति भयो म त्यसको कल्पना गर्न सक्दिनँ थिएँ ।’
तर, खेलाडी र फ्यानले खेलको कल्पना नगरेको भने होइन ।
सन् २०२२ को विश्वकप फुटबलको फाइनल खेल सुरु हुनुअघि नै रंगशालामा उपस्थित र विश्वका कुना कुनामा रहेका टिभी सेटमा नजर राखेका फ्यानहरूले आफूले कुन टोलीलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेका थिए ।
यस्तो पागलपन…
अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सको सडकमा यति धेरै मानिस थिए कि गणना गर्न गाह्रो थियो । कप्तान लियोनेल मेस्सीले विश्वकपमा आफ्नो अन्तिम खेल खेल्नका लाष् िलगाएको त्यो चर्चित ‘१० नम्बर’ जर्सी कतिको शरीरमा छ, त्यो गन्ती गर्न झनै गाह्रो थियो ।
फ्रान्सको राजधानी पेरिसमा पनि फ्यानको क्रेज र उत्साह कम थिएन । पेरिसमा पनि समर्थकहरूमा १० नम्बरको जर्सीको क्रेज थियो, तर त्यहाँ जर्सीको रंग फ्रान्सेली मेगास्टार केलियन एमबाप्पेले लगाएको जस्तै थियो ।
फाइनल खेललाई मेस्सी र एमबाप्पेबीचको प्रतिस्पर्धाका रूपमा मात्र हेरिएको थियो ।
अर्जेन्टिनाका फ्यानहरू रंगशालामा बढी थिए । यी फ्यानहरूमध्ये केही निकोलजस्ता पनि थिए जसले बीबीसीलाई २४ सय डलर अर्थात् करिब दुई लाख रुपैयाँ तिरेर टिकट पाएको बताए ।
तर, उनलाई पश्चाताप भएन । निकोलसले भने, ‘मेस्सीले विश्व कप उठाएको हेर्नकाल ागि म योभन्दा पनि बढी मूल्य तिर्न सक्थेँ ।’
यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों जस्ता उच्च प्रोफाइल प्रशंसकहरू एमबाप्पेलाई प्रोत्साहन गर्न लुसेल स्टेडियममा उपस्थित थिए । चार दिनमा उनी दोस्रो पटक कतार पुगेका हुन् । फ्रान्सको सेमिफाइनलमा मोरक्कोमाथिको जितपछि उनलाई ‘लक्की मस्कट’ मानिएको थियो ।
कल्पनाहरू आफ्नो ठाउँमा थिए, तर फाइनलको कथाले आफ्नै बाटो रोज्यो ।
म्याचमा स्कोर
– २३ औँ मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि पहिलो गोल हाने
– ३६ औँ मिनेटरमा एंगेल डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे । पहिलो हाफमा अरु कुनै गोल भएन ।
– म्याचमा फ्रान्स कमजोर देखिरहेको थियो तर ८० औँ मिनेटमा एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे ।
– ८१ औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल हानेर फ्रान्सलाई अर्जेन्टिनाको बराबरीमा ल्याइदियो ।
अतिरिक्त समयको रोमाञ्चकता
निर्धारित समयसम्म दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
– १०८ औँ मिनेटमा मेस्सीले गोल गरे र अर्जेन्टिनालाई अग्रता दिलाए ।
– ११८ औँ मिनेटमा एमबाप्पेले ह्याट्रिक गर्दै फ्रान्सलाई बराबरीमा ल्याइदिए ।
एमबाप्पेको जादु ८० औं मिनेटमा देखियो । त्यतिन्जेल मेस्सीको नाम चर्चामा थियो तर अर्को ४० मिनेटभन्दा बढी समयका लागि एमबाप्पे कथाको केन्द्रमा थिए ।
१० नम्बरको जर्सी लगाएका यी खेलाडी सोही नम्बरको जर्सी लगाएर विपक्षी खेलाडीको पार्टी बिगार्ने तयारीमा देखिन थाले ।
पेनाल्टी सुटआउटका हिरो
तर कहानी अझै बाँकी थियो । खेलको नतिजा पेनाल्टी सुटआउटबाट गर्ने निश्चित भयो र फाइनलअघि मेस्सीले विश्वकप जित्ने घोषणा गरेका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले अग्रता लिएका थिए ।
उनी फ्रान्स र विश्वकपबीचको पर्खाल बनेका थिए । फ्रान्सले चार मौका पायो पनि दुई मात्रै गोल गर्न सफल भयो । इमिलियानोले दुई प्रयास विफल पारिदिए ।
जितको निर्णय गरेपछि एमिलियानोले भने, ‘मैले देखेको सपना साकार भयो ।’
उनले थपे, ‘मसँग शब्द छैन । पेनाल्टी सुटआउटमा म शान्त थिएँ । हामी जस्तो चाहन्थ्यौँ, सबैकुरा त्यस्तै भयो ।’
हृदयविदारक हार
इमिलियानोको प्रयासले एमबाप्पेको कडा मेहनत खेर गयो । साउदी अरेबियासँग पराजित हुँदै अभियानको सुरुवात गरेको अर्जेन्टिना विश्वकप च्याम्पियन बनेको छ ।
हारबाट निराश एमबाप्पेले आफ्नो टिसर्ट तानेर अनुहार लुकाए । मानौँ कि उनी आफ्नो भावना लुकाउन चाहन्छन् । उनलाई शान्त पार्न म्याक्रों आफैँ मैदानमा आउनुपर्यो ।
म्याक्रोनले भने, ‘हामी सबै धेरै दुःखी छौं । विशेष गरी हार कसरी पायौँ भनेर हेर्दा । हामी जितको नजिक थियौं । मैले ड्रेसिङ रुममा खेलाडीहरूलाई हामीलाई उनीहरूप्रति कति धेरै गर्व छ भनेर भनेँ ।’
म्याक्रोंले भने, ‘मेरो विचारमा यो मैले हेरेको सर्वश्रेष्ठ विश्वकप फाइनल हो ।’
फ्रान्सका प्रशिक्षक डिडियर देसचनले भने, ‘यो हार हृदयविदारक छ ।’
तर हारपछि पनि एमबाप्पे रित्तो हात फर्केका छैनन् ।
पूरा भयो कहानी
सबै अनावश्यक मोडहरू पार गर्दै विश्वकप फाइनलको कथा अन्तिम मोडमा आइपुगेको छ । फ्रान्सेली खेलाडीका आँखा रसाए । अर्जेन्टिनाका खेलाडीका आँखा पनि रसाए । कतै दुःखको आँसु थियो त कतै खुशीको ।
सर्कलमा आफ्ना सहकर्मीहरूसँग उत्सव मनाएपछि मेस्सीको नजर विश्वकपमा केन्द्रित थियो । टी–शर्टमा अरबी विश्व शैलीको पोशाकमा सजिएका मेस्सीले फिफा अध्यक्ष जियानी इन्फान्टिनो र कतारका शेख तमिमसँग हात मिलाए र त्यसपछि उनको सपनाको दुर्लभ ट्रफीलाई हातमा लिए ।
कतारमा भएको पहिलो विश्वकपको कथा पुरा भएको छ । यो मेस्सी र अर्जेन्टिनाका लागि परीको कथा जस्तै थियो र जब कतारले यसलाई सम्झन्छ, यो त्यस्तै महसुस हुन सक्छ।
बीबीसी
तपाइँको प्रतिक्रिया