भोलीदेखि नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा गाडी रोकिने

गैँडाकोट, ४ पुष ।
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा मङ्गलवार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।
भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि गाडी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना गाडीलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ ।
यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी गाडीलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छ । काठमाण्डौतर्फबाट आउने यात्रुवाहक गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक गाडीलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १० बजेर ५५ मिनेटदेखि रोकिने भएको छ ।
यस्तै काठमाण्डौतर्फबाट आउने मालवाहक गाडीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान १० बजेर ४५ मिनेटदेखि रोक्ने बैठकले निर्णय गरेको छ । बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरि छोड्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया