जनता माध्यमिक विद्यालयले मनायो ६१ औँ वार्षिकोत्सव

गैँडाकोट, ६ पुष ।
गैँडाकोट नगरपालिका १२ स्थित हर्कपुरमा रहेको जनता माध्यमिक विद्यालयले आफ्नो ६१औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले विद्यालयका गतिविधीहरुको बारेमा अभिभावकहरुले पनि चासो राख्नु पर्ने बताउनु भयो । रिजालले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउदै विद्यालयमा सरकारले करोडौ रकम खर्च गरिरहेको बताउनु भयो । उहाँले बजेटमा भएका कामहरुको पारदर्शितता विद्यालयले देखाउनु पर्ने बताउनु भयो । व्यवस्थापन समितिमार्फत निगरानी हुने वातावरण सृजना गर्नु पर्ने र नगरपालिकाले पनि यसको अनुगमन गर्ने बताउनु भएको थियो । कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेलले नवलपरासी मै अव्बल विद्यालयको रुपमा चिनिएको बताउदै अझै शैक्षिक प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न विद्यामा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र प्रसाद कंडेलले विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरुलाई धन्यबाद दिदै आगामि दिनमा कोष स्थापना गरेर सहयोगका कामहरु अगाडि बढाउन आग्रह गर्नु भयो ।यस अगाडि पनि विद्यालयले नर्सरीदेखी कक्षा ५ सम्मका वालवालिका विच चम्चा दौड, वेलुन डान्स र वेलुन दौड प्रतियोगिता आयोजना गरेको थियो । यस्तै पौष ४ गते सोमबार अभिभावक लक्षित उच्च रक्तचाप एवं मधुमेह परीक्षण शिविर सम्पन्न गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक पदम बहादुर खड्काले विद्यालयमा ९ सय विद्यार्थी रहेको जानकारी दिनु भयो । उहाँले २०१८ सालमा विद्यालय स्थापना भएको बताउदै भौतिक पुर्वाधार भएपनि शिक्षक अभावको समस्या भने भैरहेको बताउनु भयो । कार्यक्रममा पुर्व व्यवस्थापन समितिको तर्फबाट यमुनाथ आचार्य, मुकुन्दसेन आधारभुत विद्यालयका प्रध्यानाध्यापक भुवन बहादुर आले, समाजसेवी बेदप्रसाद गौडेल, गोविन्दराज कोइराला, विद्यालयका पुर्व व्यवस्थापक हरी न्यौपाने, पुर्व अध्यक्ष माधव कोइराला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रध्यान्याध्यापक नेत्रप्रसाद आचार्यले गर्नु भएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्रपाणी कंडेलको अध्यक्षतामा सम्पन्न भयो ।
तपाइँको प्रतिक्रिया