गैँडाकोटमा सडक कालोपत्रे गरेको सातामै उक्कियो, स्थानिय आक्रोशित

गैँडाकोट, ७ पौष ।
गैँडाकोट नगरपालिका ११ स्थित भेडावारी चोक देखी गणेश मन्दिर चोकसम्म जोड्ने सडक कालोपत्रे गरेकै केहि दिनमै उक्केको छ । कालोपत्रे गरेको एक साता भित्रमा नै उक्केपछि स्थानीयले असन्तुष्टि जनाएका छन् । ठेकेदारको लापबाही र सडक बोर्डको बेवास्ताले सडक उक्किएको भन्दै विहीबार स्थानिय आक्रोशित समेत बनेका थिए । तिन सय मिटर कालोपत्रे गरिएको उक्त सडकको करिव सय मिटर बाटो विग्रीसकेको स्थानियले गुनासो गरेका छन् ।
स्थानिय ज्ञानहरी कंडेलले धुलो सडकमा कालोपत्रे गरेको कारण यस्तो समस्या देखिएको बताउनुभयो । कालोपत्रे गर्दा अलकत्राको प्राइम हाल्नु अगाडि सडकमा रहेको धुलो सफा नगरेकाले र हतार हतारमा रातारात कालोपत्रे गर्दा यस्तो भएको उहाँको भनाई थियो ।
कालोपत्रे सम्पन्न भइसकेको बाटोमा मान्छे हिड्दासमेत उक्किन थालेको स्थानिय प्रेम आचार्यले बताउनुभयो । यसलाई जतिसक्दो छिटो पुनःनिर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अर्का स्थानिय प्रकाश न्यौपानेले पनि तत्काल सडक पुनः निर्माण गर्न इन्जिनियरलाई दबाब दिनुभयो । करिव १ सय मिटर बाटो विग्रीएको भन्दै तत्काल पुनः निर्माण हुनुपर्ने उहाँको भनाई थियो ।
कालोपत्रे उप्केपछि सडक डिभिजन भरतपुरका इञ्जिनियरको टोलीले अनुगमन गरेर फर्केको छ । इन्जिनियर राजेन्द्र महर्जनले बाटो कालोपत्रे गर्ने क्रममा गिट्टीको तालमेल नमिलेर यस्तो समस्या सिर्जना गएको बताउनुभयो । उहाँले विग्रीएको बाटो तत्काल पुनः निर्माण गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
यो बाटो कालोपत्रेका लागि सडक बोर्डले परासी निर्माण सेवा कम्पनीसंग ५८ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको हो ।
तपाइँको प्रतिक्रिया