गैँडाकोटको गोपेश्वर महादेव मन्दिरद्वारा बिद्यार्थीलाई नैतिक शिक्षा दिन सुरु

गैंडाकोट, ८ पौष । शिक्षामा पाठ्क्रमको संरचनामा नैतिक शिक्षाको अभाव रहेको भन्दै गैँडाकोटको एक मन्दिरले विद्यार्थीलाई नैतिक शिक्षा प्रदान गर्न थालेको छ । गैंडाकोट २ मा रहेको गोपेश्वर महादेव मन्दिरले विद्यार्थीहरुलाई नैतिक शिक्षा दिन सुरु गरेको हो । नैतिक शिक्षाले बालबालिकालाई सुयोग्य नागरिक बन्न पे्ररित गर्ने भएकाले नैतिक शिक्षामा जोड दिनुपर्ने अवस्था रहेको मन्दिरको भनाई छ ।
शुक्रवार मन्दिरले मन्दिर परिसरमा एक समारोहको आयोजना गरि स्थानिय महेन्द्र स्मारक विद्यालयका विद्यार्थीहरुलाई नैतिकशिक्षा दिएर यो कार्यक्रमको शुभारम्भ गर्यो । कार्यक्रममा विद्यालयका ७० जना विद्यार्थीहरु सहभागि थिए ।
उनिहरुलाई व्यासगुरु पं. निलकण्ठ मरासिनीले व्यक्तिमा हुनुपर्ने आचरण, नैतिकता र अनुशासन आदिका बारेमा शिक्षा दिनुभएको थियो । नैतिक शिक्षा र बैदिक सनातन धर्मका बारेमा शिक्षा ग्रहण गर्दै बिद्यार्थीहरु त्यहाँ भएको भजन र किर्तनमा पनि सरिक भएका थिए ।
गोपेश्वर महादेव मन्दिरमा प्रत्येक हप्ता शुक्रबारका दिन गैंडाकोट नगरपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई यसप्रकारको नैतिकशिक्षा प्रदान गरिने मन्दिर समितिका अध्यक्ष बेदप्रसाद गौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि गैंडाकोट इङिलस स्कूलका प्राचार्य हिरालाल अर्यालले पूर्विय दर्शनलाई अहिले पश्चिमाहरुले अध्यायनको विषय बनाएको चर्चा गर्दै यस्ता कार्यक्रमहरु नगरका अन्य मन्दिरहरुले पनि सुरु गर्नुपर्ने औल्याउनुभयो । प्राचार्य अर्यालले उक्त कार्यक्रमकालागि रू ५ हजार नगद दिने घोषणा समेत गर्नुभएको छ ।
कार्यक्रममा कालिका नमुना माबिका प्रचार्य प्रजानाथ कँडेल, भागवत युवा पण्डित चेतराज कंडेल, गैंडाकोट नगरपालिका सत्सङ्ग समितिका अध्यक्ष डा. नारायण गौतम, कालिका संस्कृत विद्यापिठका प्राचार्य रामचन्द्र कंडेल लगायतको उपस्थीती रहेको थियो ।
मन्दिर समितिका अध्यक्ष वेदप्रसाद गौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नारायण सुबदीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया