स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौं, ९ पौष
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आउँदो फागुन २८ गते गर्ने तयारी गरेको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आउँदो फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए ।
“हामीले त्रिवि पदाधिकारी, नौवटै संकायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्यौँ,” उनले भने, “परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ । हामी सोही मितिको प्रस्ताव विद्यार्थी संगठनसँग गर्छौँ ।”
स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी संगठनका अध्यक्षको बैठक बोलाइएको छ । निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकाले विद्यार्थी संगठनसँग छलफल गरिने बताए ।
उनले भने, “विद्यार्थी संगठनले उक्त मितिमा सहमति जनाए हामी निर्वाचनको मिति घोषणा गरेर निर्वाचन प्रक्रियामा जान्छौँ ।”
त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुन सकेको छैन । विद्यार्थी संगठनले फागुन २८ गते सहमति गरे भने विद्यार्थी कल्याण परिषद् बैठकले मिति तोक्नका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गर्नेछ । त्यसपछि त्रिविको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनको मिति घोषणा र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उनले जानकारी दिए ।
त्रिविका क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन ।
वि।सं। २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा वि।सं। २०७३ चैत १५ गते भएको थियो । त्यति बेला देशभरि त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस ९आरआर०, जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
यस्तै, उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।
स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ । पछिल्लोपटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागु भएपछि पहिलोपटक २०७३ सालमा आंशिक रूपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । रासस
तपाइँको प्रतिक्रिया