मौलाकालिका मन्दिरको ४३औँ वार्षिक साधारणसभा सम्पन्न

गैँडाकोट, २९ फागुन ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैँडाकोट १ मौलाकालिका मौलाकालिका मन्दिरको कार्यालय भवनको प्राङ्गणमा सोमबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा सभाका प्रमुख अतिथि समेत रहनुभएका हरिहर सन्यास आश्रमका पीठाधीस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले विश्वमै ख्याती कमाउदै गइरहेको मौलाकालिका मन्दिरको मौलिकतालाई बचाई राख्न आग्रह गर्नुभएको छ ।
उहाँले मन्दिरको विकासका निम्ती यस समितिले महत्वपुर्ण भुमिका खेलेको बताउँदै यस्तै धेरै धार्मिक मान्छेको जन्म भएमा मन्दिरको प्रगती हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै धार्मिक सेवा समिति मौलाकालिका मन्दिर समितिका अध्यक्ष शालिकराम सापकोटाले हिन्दु धर्ममा आस्था भएका मानिसहरुको सहयोगमा मौलाकालिका देवघाट सिँढीमार्ग निर्माणको कार्य सुरु, मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम जस्ता भौतिक संरचना सम्भव भएको बताउनुभयो । अध्यक्ष सापकोटाले एउटा मौलोबाट स्थापना भएको यस मन्दिरमा अहिले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका पर्यटकको आकर्षणको केन्द्र भएको समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव श्यामसुन्दर पराजुलीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगती प्रतिवेदनतथा आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष सुवनप्रसाद ढकालले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तावित लक्ष्य तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, उपमेयर शान्ति कोइराला, संस्थाका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महत, संस्थाका संस्थापक अध्यक्ष डिलाराम कंडेल पुर्व अध्यक्ष भवानी प्रसाद गौडेल, सल्लाहकारहरु सिद्ध कुमार श्रेष्ठ, मान बहादुर सापकोटा, विष्णुहरी रिमाल, मनमाँया गौतम, महेन्द्र कार्की, कृष्णप्रसाद घिमिरे लगायतले मन्दिरको प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया