कति हुन्छ राष्ट्रपतिको तलब ?

काठमाडौं, ३० फागुन । अमेरिकी राष्ट्रपतिले वर्षमा ४ लाख डलर तलब तथा ५० हजार डलर अन्य खर्च शीर्षकमा पाउँछन् । हाम्रै छिमेकी देश भारतका राष्ट्रपतिले महिनाको ५ लाख ७० हजार भारु तलब पाउँछन् । श्रीलंकाका राष्ट्रपतिको मासिक तलब १ लाख श्रीलंकाली रुपैयाँ छ भने बंगलादेशी राष्ट्रपतिले महिनाको १ लाख २० हजार टाका पाउँछन् ।
नेपालको संविधानले राष्ट्रपतिलाई सर्वोच्च हैसियतमा राखेको छ । राष्ट्रपतिको सर्वोच्चताका आधारमा सेवा र सुविधा निर्धारण गरिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ अनुसार, राष्ट्रपतिले मासिक पारिश्रमिक पाउँछन् । यो ऐनले राष्ट्रपतिको तलब मासिक १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तोकेको छ । यसबाहेक राष्ट्रपतिले पोशाक सुविधा वर्षमा २५ हजार रुपैयाँ पाउँछन् । पदबाट निवृत्त हुँदासमेत एक महिनाको तलबबराबरको रकम थप सुविधाको रूपमा दिइन्छ ।
ऐनको दफा ७ मा अतिथि सत्कार तथा भैपरी खर्चको व्यवस्था गरिएको छ ।जसअनुसार राष्ट्रपतिले मासिक पारिश्रमिक बराबरको रकम अतिथि सत्कारका लागि खर्च गर्न पाउँछन्, जसको खर्चको बिल भरपाइ पेश गर्नु पर्दैन । यसबाहेक दफा १० बमोजिम चाडपर्व खर्चका नाममा प्रत्यक वर्ष राष्ट्रपतिलाई एक महिनाको पारिश्रमिक बराबरको खर्च प्रदान गरिन्छ ।
राष्ट्रपति आफ्नो ओहोदासम्बन्धी कामको सिलसिलामा स्वदेश वा विदेशको भ्रमण गर्दाको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ । यस्तो भ्रमण गर्दा दैनिक भत्ता तथा बीमा सुविधा पाउने व्यवस्था छ । स्वदेशमा भ्रमण गर्दा दिनको ३ हजार ३०० रुपैयाँका दरले भत्ता दिइन्छ । विदेशमा भ्रमण गर्दा दैनिक भत्ता दर २ सय ५० अमेरिकी डलर हुन्छ । बीमा २५ लाख रुपैयाँको हुन्छ ।
आवास सुविधा अन्तरगत राष्ट्रपतिका लागि नेपाल सरकारले सरकारी घरको बन्दोवस्त गर्छ । जसको मर्मत सम्भार र घरका लागि उपर्युक्त फर्निचरको व्यवस्थासमेत नेपाल सरकारले गर्ने व्यवस्था छ । राष्ट्रपति आवासका लागि टेलिफोन कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा समेत सरकारले व्यवस्था गर्छ ।
राष्ट्रपतिका लागि सरकारले उपर्युक्त सवारीको पनि व्यवस्था गरेको छ । यातायात मर्मत सम्भार र इन्धनको रकम समेत सरकारबाटै व्यवस्था गरिन्छ ।
राष्ट्रपतिलाई बस्नका लागि सरकारले नै घरको बन्दोबस्त गरेको हुन्छ । हाल राष्ट्रपतिका लागि शीतल निवास छ । यो घरको मर्मत र सम्भार सरकारले नै गरिदिन्छ । घरका लागि चाहिने फर्निचर सरकारले नै किन्छ ।
राष्ट्रपतिलाई शानदार सवारी तथा इन्धन सुविधा दिइएको हुन्छ । सवारीसाधनका लागि आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मत सम्भार खर्च सरकारले नै दिन्छ । हाल नागरिकले विरोध गरिरहेको राष्ट्रपतिको सवारी ‘प्रोटोकल’ नै हो । राष्ट्रपति आफ्नो आवासबाट निस्कँदा सडक पूरै खाली गराइन्छ ।
राष्ट्रपतिलाई सञ्चार सुविधा हुन्छ । आवासका लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिकाजस्ता सञ्चार सुविधाको व्यवस्था सरकारले नै गरिदिएको हुन्छ ।
यस्तै, राष्ट्रपतिले नेपाल सरकारको व्यवस्थामा एक जना निजी चिकित्सक राख्न पाउँछन् । उपचारका लागि स्वदेश वा विदेश जानुपर्ने अवस्थामा सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । यतिमात्र होइन, उपचार गराउँदा कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च समेत नेपाल सरकारले उपलब्ध गराउछ ।
यसबाहेक राष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्याउन बढिमा ७ जनासम्म विज्ञ नियुक्त गर्न सक्ने ब्यवस्था छ ।
राष्ट्रपतिको निजी सचिवालयका कर्मचारी
प्रमुख स्वकीय सचिव (रा.प.विशिष्ट श्रेणी सरह) १ जना ।
सहस्वकीय सचिव (राप प्रथम क श्रेणीसरह) १ जना ।
उपस्वकीय सचिव (रा.पं द्वितीय श्रेणीसरह) २ जना ।
स्वकीय अधिकृत (रा.प. तृतीय श्रेणी सरह) ४ जना ।
कम्प्युटर सहायक (रा.प. अनङ्कित प्रथम श्रेणीसरह) १ जना ।
फोटोग्राफर (रा.पं अनङ्कित प्रथम श्रेणीसरह) १ जना ।
प्रेस संयोजक (रा.प. अनङ्कित श्रेणीसरह) १ जना ।
सवारीचलाक (श्रेणीविहीन) ४ जना ।
कार्यालय सहयोगी ४ जना ।
तपाइँको प्रतिक्रिया