पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ : सभामुख घिमिरे

काठमाडौं, ३ चैत्र । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो भएकोे टिप्पणी गरेका छन् ।
आज (शुक्रबार) सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँगको भेटमा उनले उक्त टिप्पणी गरेका हुन् । ‘बिग हाउस’हरुले थर्काएर, किनेर, फकाएर पत्रकारहरुलाई प्रभावित पारिरहेको बताउँदै त्यसबाट मुक्त हुन आग्रह समेत गरे ।
मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ छ । पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै उनले त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।
‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो, अन्यथा नलिनुहोला, यो पत्रकार महासंघ हो, त्यो खालको छैन,’ उनले भने, ‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरु । अव पत्रकारहरु बिक्रीमा छन्, संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभावचाहिँ कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला ।’
सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको पनि बताए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए ।
तपाइँको प्रतिक्रिया