सभामुखले अभिव्यक्ति फिर्ता लिनपर्छ नभए पुष्टि गर्नुपर्छ : पत्रकार महासंघ

४ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता नलिए नेपाल पत्रकार महासंघले दबाबमूलक कार्यक्रम गर्ने बताएको छ।
संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ ।
‘सार्वभौम संसदको मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुस्खद छु, महासंघले विज्ञप्तिमा जारी गर्दै भनेको छ।
नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति दिँदा यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्ने महासंघको भनाइ छ ।
आफ्ना आरोप पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गरेको छ।
‘महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष आग्रह गर्दछ’ महासचिव पुरीले विज्ञप्तिमा भनेका छन् ।
तपाइँको प्रतिक्रिया