विश्व मुख स्वास्थ्य दिवसको अवसरमा गैँडाकोटमा म्याराथन प्रतियोगिता आयोजना

गैँडाकोट, ६ चैत्र । विश्व मुख स्वास्थ्य दिवसका अवसरमा स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले गैँडाकोटमा सचेतनामुलक कार्यक्रम तथा म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ ।
यस दिवसको अवसरमा स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले आयोजना गरेको ३२ यस मिटर म्याराथन दौडमा गैँडाकोट ११ का ४६ वर्षिय नरबहादुर भण्डारी प्रथम हुनुभएको छ । त्यस्तै गैंडाकोट ३ का १९ वर्षिय थमेस गरम्जा थापा मगर द्वितीय र गैंडाकोट १० का १८ वर्षिय खेमप्रसाद आले मगरले तृतीय स्थान हाँसिल गर्नुभएको छ । उहाँहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम सुनगाभा युवा क्लबको व्यवस्थापनमा आयोजना गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लि का दन्त चिकित्सक, डा. विष्णुप्रसाद सुवेदीले यदि मुख स्वस्थ रहेमा हामी गुणस्तरीय जीवन बाच्न सक्छौँ । मुख स्वस्थ भएमात्र शरीर स्वस्थ रहन्छ र जीवनमा आत्मविश्वास जागृत हुने बताउनुभयो ।
सुनगाभा युवा क्लबका अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका उप प्रमुख शान्ति कोइराला, गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, गैँडाकोट नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष देवीदक्त कंडेल, जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बि प्राउड अफ युओर माउथ अंकित २०० वटा टिसर्ट समेत वितरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया